नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुम पूर्वको सभापतिमा दामोदर गौतम चयन हुनु भएको छ । रुकुमकोटमा भएको प्रथम जिल्ला अधिवेशनले सिस्ने ६ का गौतमलाई अध्यक्षमा चयन गरेको हो ।
प्रथम अधिवेशनले सम्पूर्ण पदाधिकारी र कार्य समितिका सदस्य सर्वसहमतिबाट टुंगो लगाएको छ । अधिवेशनबाट सभापतिमा गौतम र उपसभापतिमा पुथाउत्तरगंगा गाउँपालिका ८ का टेकप्रसाद समाल र सिस्ने ५ की शिल्पा पौडेललाई चयन गरेको छ ।


यसैगरी मन्त्रीमा सिस्ने ५ का लोकेन्द्रबहादुर बुढाथोकी, उपमन्त्रीमा सिस्ने ६ का भिमकान्त उपाध्याय, कोषाध्यक्षमा सिस्ने ५ का बामदेव गौतम र उपकोषाध्यक्षमा सिस्ने ३ का कमानसिङ खत्री सर्वसम्मत निर्वाचित हुनु भएको छ । अधिवेशनबाट ७ पदाधिकारी सहित १७ जनाको कार्य समिति पनि निर्माण गरिएको छ ।


२०६५ देखि २०७४ सम्म रेडक्रस सोसाइटी रुकुमकोट उपशाखाको रूपमा रहेको थियो । सिङ्गो रुकुम दुई भागमा विभाजन भएपछि २०७५ देखि लोकेन्द्रबहादुर बुढाथोकीको संयोजकत्वमा रेडक्रसको तदर्थ समिति गठन गरि कामकाज सुरु गरिएको थियो ।
२०७७ पुसबाट भने मोहनबहादुर के.सीको संयोजकत्वमा तदर्थ समिति पुनः गठन गरिएकोे थियो । शनिवार सदरमुकाम रुकुमकोटमा सम्पन्न भएको प्रथम अधिवेशनको बन्द सत्रबाट नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुम पूर्वले पूर्णता पाएको छ ।