नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले गठबन्धनको सिटको बाँडफाँड सबैलाई स्वीकार्य हुने बताएका छन । उनले त्यस सम्बन्धमा गम्भीर रुपमा छलफल चलिरहेको र छिट्टै निष्कर्षमा पुगिने विश्वास दिलाए ।
गठबन्धन आजको आवश्यकत्ता हो कि होइन भन्ने कुरा पहिले बुझ्नुर्पयो । अहिले सबै दल गठबन्धन गरेर जाने निष्कर्ष निकालेका छन । त्यसैले सिट बाँडफाँड मिल्छ, उनले भने ।

उनले कांग्रेस १६५ सिटमै उम्मेदवार खडा गर्ने पार्टी भएको र माओवादी केन्द्र पनि त्यस्तै पार्टी भएकाले सिट बाँडफाँड ठूलो समस्या नभएको बताए । उनले माओवादी केन्द्र भाबी प्रधानमन्त्रीको रुपमा लिएर अध्यक्ष प्रचण्डकै नेतृत्वमा आफूहरु चुनावमा सहभागी हुने सुनाए ।

उनले मुलुकमा व्यवस्था बदलिए पनि जनताको अवस्था नबदलिएको बताए । अपेक्षित ढंगले मुलुकमा आर्थिक सामाजिक परिवर्तन आउन नसकेको उनको भनाइ छ । यसबारेमा बहस चलिरहेको छ । कतिपयले राजनीतिक व्यवस्था ठीक नभएर हो कि भनेर बहस चलाइएको छ । अर्काेतर्फ, पार्टी गलत भएकाले यो परिणाम आएको हो भनेर बहस भएको छ ।

पछिल्लो समय मुलकुमा उल्लेखनीय परिवर्तन भएका छन । अझै परिवर्तनलाई व्यवहारिक रुप दिनको लागि, केही नमिलको कुरा मिलाउनुपर्छ । यो कोण पनि छ, उनले भने ।

उनले अहिलेको व्यवस्था त्रुटिपूर्ण नभएको जिकिर गरे । उनले मुलुकमा लोकतन्त्र अझै मजबुद र फराकिलो भएको सुनाए । व्यवस्थाको दृष्टिकोणले हेर्दा यसलाई त्रुटिपूर्ण भन्न नमिल्ने उनको भनाइ छ । उनले दलहरु कमजोरी रहित छन भनेर आफूले नभन्ने पनि सुनाए ।