आगामी मंसिर ४ मा संघ र प्रदेशसभाको निर्वाचन तोकिएपछि नेताहरूले चुनावी तयारी थालेका छन्। निर्वाचन क्षेत्रमा यतिखेर चुनावी सरगर्मी बढेको छ । नेताहरूले आफ्नो निर्वाचन क्षेत्रमा राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन । चुनावमा जित निकाल्न कति सहज, कति कठिन भन्ने विषयमा मत परिणामको विश्लेषण पनि भइरहेको छ। विशेष गरी चुनाव लड्ने तयारीमा रहेका शीर्ष नेताको निर्वाचन क्षेत्रलाई विशेष महत्त्वका साथ हेर्न थालिएको छ ।
दलहरू पनि आगामी निर्वाचनमा बलियो उम्मेदवार छनोट र निर्वाचन कसरी जित्न सकिन्छ भन्ने विषयमा आवश्यक रणनीति बनाउन थालेका छन्। निर्वाचन जित्न सक्ने उम्मेदवारहरूको खोजी भइरहेको छ । तर, राष्ट्रिय राजनीतिमा प्रभाव जमाउन सफल नेताहरूको निर्वाचन क्षेत्रमा कस्तो प्रभाव रहेको छ भन्ने विषय पनि उत्तिकै चासोको विषय बनेको छ । जसमध्येका एक हुन नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ।
चौथो पटक चुनाव लड्ने तयारीमा रहेका शर्मा आगामी निर्वाचनमा पनि माओवादी केन्द्रबाट जित सुनिश्चित गर्न सक्ने एक प्रभावशाली उम्मेदवार हुन उनी रुकुम पश्चिमबाट अहिले प्रतिनिधिसभा सदस्य छन । उनी नेपाल सरकारका अर्थमन्त्री पनि हुन २०७४ सालको निर्वाचनमा शर्माले १८ हजार ७ सय ४३ मतको फराकिलो अन्तरले जित निकालेका थिए । वाम गठबन्धनका उम्मेदवार शर्माले ३४ हजार ४ सय २ मतका साथ विजयी भएका थिए । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका गोपालजी जंग शाहले १५ हजार ६ सय ५९ मत प्राप्त गरेका थिए ।
रुकुम पश्चिम नेकपा माओवादी केन्द्रको बलियो प्रभाव रहेको क्षेत्र हो । यहाँ निरन्तर माओवादी केन्द्रले जित निकाल्दै आएको छ । पछिल्लो स्थानीय तहको मत परिणाम केलाउँदा पनि यहाँ माओवादी केन्द्र पहिलो र बलियो शक्ति हो ।
स्थानीय तहमा वडा अध्यक्षले पाएको मतलाई हेर्ने हो भने पहिलो माओवादी, दोस्रो काँग्रेस र तेस्रोमा एमाले रहेको छ । यहाँ माओवादीको ३७ हजार १०२, काँग्रेसको २६ हजार ६२०, एमालेको ६ हजार १२४, एस १३० र राप्रपा १०८ मत छ । रुकुम पश्चिममा गठबन्धन नहुँदा पनि माओवादी केन्द्रले सहजै जित्न निकाल्न सक्छ ।
स्थानीय तहको मतलाई आधार मान्ने हो भने एमाले काँग्रेस लगायतका दलहरूको गठबन्धन भएपनि माओवादी केन्द्रको जित रोक्न सक्ने देखिँदैन । चुनावमा पाँच दलीय सत्ता गठबन्धन कायम रहे यहाँ गठबन्धनको मत ६३ हजार ८५२ भोट हुन्छ । उक्त मत एमालेको भन्दा ५७ हजार ७२८ मतले बढी हो ।
पाँच दलका बीचमा गठबन्धन भएको अवस्थामा पनि यो निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार जनार्दन शर्मा हुने निश्चित छ । गठबन्धन रहेको अवस्थामा शर्माले भारी मतान्तरले जित निकाल्ने निश्चित छ ।