रुकुम पश्चिममा पहिरोले पुरिँदा आमा र छोरीको मृत्यु भएको छ । अर्की छोरी भने घाइते भएकी छन । जाजरकोट भेरी नगरपालिका– १ मैदेकी ३० वर्षीया बालमती राना र उनकी २ वर्षीया छोरी प्रतीक्षा रानाको मृत्यु भएको र बालमतीकी ७ वर्षीया छोरी तिर्सना घाइते भएकी छिन ।

तिर्सनाको जाजरकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार बालमती आइतबार दुई छोरीसँगै जाजरकोटको नलगाड नगरपालिका–१ स्थित माइतीबाट रुकुम पश्चिम हुँदै घरतर्फ फर्कदै थिइन । पानी परेपछि उनीहरु रुकुम पश्चिम आठबिसकोट नगरपालिका १४ पिपलचौर स्थित छेपारे सामुदायिक वनको भवनमा बसेका थिए ।

सोही समयमा दिउँसो साढे ३ बजे माथिबाट आएको पहिरोले उनीहरुलाई पुरेको थियो । पछि प्रहरी र स्थानीयले एक छोरीलाई उद्धार गरे पनि दुई जनालाई भने बचाउन नसकिएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । घटनाबारे थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।