निरन्तरको वर्षाका कारण तुलसीपुर उपमहानगरपालिकाको साततलेमा पहिरो खसेपछि राप्ती राजमार्ग अवरुद्ध भएको छ । दाङ–सल्यान सडक खण्डअन्तर्गत तुलसीपुर–३ साततलेमा पहिरो खसेपछि बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहान करिब तीन बजेतिर पहिरो खसेपछि सडकमा यातायात आवागमन ठप्प भएको छ । वर्षा निरन्तर भइरहेकाले पहिरो हटाउन समस्या भएको प्रहरी प्रवक्ता गौतमले बताउनुभयो ।

वर्षा रोकिएपछि पहिरो पन्छाउने उहाँले बताउनुभयो । बाटो बन्द भएकाले सवारी साधनहरू सल्यानको कपुरकोट र दाङको तुलसीपुरमा रोकिएका छन ।