कर्णाली प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रका दुई नेता मन्त्री नियुक्त हुनु भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा रातो कामीलाई सोमबार नियुक्त गर्नु भएको हो ।
नवनियुक्त दुई मन्त्रीको नाम प्रदेश प्रमुखको कार्यालयमा पठाइएको थियो । आजै थपिएका दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ पनि लिनु भएको छ । प्रदेश प्रमुख तिलक परियारले आर्थिक मामिला तथा योजना मन्त्री शाह र जलस्रोत तथा ऊर्जा विकास मन्त्री कामीलाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएको हो ।
यसअघि माओवादी केन्द्रले आफ्ना सरकारमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जल, स्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएर शाह र कामीलाई मन्त्रीका लागि मुख्यमन्त्री समक्ष सिफारिस गरेको थियो ।
रुकुम पश्चिमका कामी र जाजरकोटकी शाह मन्त्री बनेसँगै कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने ११ जना मन्त्री बन्न सफल भएका छन । शाह जाजरकोटकी समानुपातिक सांसद र कामी रुकुम पश्चिम निर्वाचन क्षेत्र नम्बर क बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ ।