रुकुम(पूर्व) मा प्रहरीले मुद्धा दर्ता गर्न अस्विकार गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) ले पुथा उत्तरगंगा गाउँपालिकाकी नाम परिवर्तीत (सिता) को मुद्धा दर्ता गर्न अस्विकार गरेको हो । यहि भदौ १४ गते बिहान उहाँकै घरमा पुगेर रोल्पा थबाङ गाउँपालिका १ का रामप्रसाद बुढाले जबरजस्ति करणीको प्रयास गरेका थिए । सिता जबरजस्ति करणी प्रयासको मुद्धा दर्ता गर्न १५ गते जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) मा पुग्नुभएको थियो । तर प्रहरीले सिताको मुद्धा दर्ता नगरेको पिडित पक्षले बताएको छ ।
सिता भन्नुहुन्छ, “१४ गते बिहान ९ बजे घरमा आएर रामप्रसाद बुढाले हातपात गरेको हो । उसले हातपात गर्दा लगाएको टिसर्ट पनि च्यातिएको छ । दुई वटा हास पनि हानेर घाइते बनाइदिएको छ । आफुमाथी जबरजस्ति करणीको प्रयास भएपछि म मुद्धा दर्ताको लागि जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) मा आए । तर प्रहरीले मुद्धा दर्ता गर्न मानेको छैन् । जबरजस्ति करणी उद्योगको मुद्धा दर्ता गर्न भन्दै प्रहरी कार्यालयमा पुग्दा जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश डाँगी र मुद्धा फाटका शुशील कसीले साक्षी लिएर आउनु अनि मात्र मुद्धा दर्ता हुन्छ भनेर फर्काएको पिडित महिलाले बताउनुभयो ।
पिडित महिलासँगै उहाँका साथमा आएका ४ जना १६ गते साझ रातारात साक्षी ल्याउन तकसेरा गएको र साक्षि लिएर प्रहरीमा गएर बयान दिदा पनि यस्तो पनि मुद्धा हुन्छ, फर्केर जानु दर्ता हुदैन भनेर प्रहरी निरीक्षक कृष्ण खत्री र मुद्धा फाटका शुशिल केसीले फर्काएको पिडित महिलाको भनाई छ । आफुमाथी दिउसै जबरजस्ति करणीको प्रयास गर्दा पनि प्रहरीले मुद्धा दर्ता नगरेर पिडकको संरक्षण गरेको उहाँ भन्नुुहुन्छ ।
तीनै रामप्रसादले १३ गते राती १ बजे तकसेराकै अमरमाला बुढामाथी पनि ज्यानलेवा हमला गरेका थिए । उनले राती घरमा एक्लै साना दुई छोरी र एक छोराको साथमा सुतिरहेको बेलामा बाहिरबाट ढोका हानेर खुकुरीको साथमा भित्र छिरेर हातपात गरेका थिए । खुकुरीले हान्दा टीनको ढोका पनि छिर परेको छ । यहि घटनालाई ज्यान मार्ने उद्योगको मुद्धा दर्ता गर्न भनेर प्रहरी कहाँ पुग्दा यसलाई पनि प्रहरीले अभद्र व्यवहार भनेर मुद्धा दर्ता गरिदिएको पिडित बुढाले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, “रामप्रसादले राती १ बजेको समयमा आएर ढोका हान्दै तेरो परिवारलाई सिध्याउछु, बलात्कार गर्छु भन्दै कराएको थियो । पछि खुकुरी र लात्तीले हानेर ढोका खोलेर आफुलाई आकलझीकल पारेको र आफु चिच्याएपछि वरपरका मान्छे जम्मा हुँदा उ भागेको उहाँले सुनाउनुभयो ।
एउटा महिला जबरजस्ति करणीको मुद्धा दर्ता गर्न आउदा साक्षी खोज्ने पुुलिस पहिलो पटक देखेको त्यहाँका स्थानीय भिमसेन सुनारले बताउनुभयो । प्रहरीबाटै पिडितमाथी झन पिडा थप्ने र पिडकलाई संरक्षण गर्ने काम भएको भन्दै उहाँले प्रहरीबाट न्यायको आस मरेको बताउनुभयो ।
जिल्ला प्रहरी प्रमुख डिएसपी डाँगीले भने पहिले घटना सहि हो की गलत हो भनेर पहिले अनुसन्धान गर्नुपर्ने बताउनुभयो ।