रुकुम(पूर्व) मा निजामती सेवा दिवसको अवसरमा आयोजना गरिएको फुटबल प्रतियोगितामा टिम बी विजयी बनेको छ । निजामती सेवा दिवसको अवसरमा कर्मचारी मिलान केन्द्र रुकुम(पूर्व) ले आयोजना गरेको मैत्रिपूर्ण फुटबल प्रतियोगितामा टिम बी ले २–१ को गोल अन्तरले टिम सि लाई पराजित गरेको हो । निर्धारित समयमा दुवै समुहले एकएक गोलको बराबरी खेलेपछि पेनाल्टि सुटआउटबाट गोल गर्दै टिम बी विजयी बनेको हो ।

कमल खड्काको कप्तानीमा रहेको टिम सि ले भने उपविजेतामै चित्त बुझाएको छ । प्रतियोगितामा टिम सि ले टिम ए लाई ३–० को गोल अन्तरले पराजित गर्दै सेमीफाइनल प्रवेश गरेका थियो भने टिम बी ले स्वास्थ्यको समुहलाई ३–० कै गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको खेल संयोजक एवम् कोष तथा लेखा नियन्त्रक कार्यालय रुकुम(पूर्व) का प्रमुख नरेन्द्र बुढा मगरले जानकारी दिनुभयो ।

उहाँकाअनुसार प्रतियोगिताबाट, विजयी हुने टिम बी का कप्तान डिभिजन वन कार्यालयका रविन खड्का सर्वाधिक गोल स्कोर गर्ने खेलाडी चुनिनुभएको छ । उहाँले सर्वाधिक ३ गोल गर्नुभएको छ । खड्का नै खेलका म्यान अफ द म्याचसँगै म्यान अफ द सिरिज हुनुभएको छ ।

हरेक वर्षको भदौ २२ गते पर्ने निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरि मनाइदै आइएको छ । यस वर्ष मिलान केन्द्रले दिवसको अवसर पारी मैत्रिपूर्ण खेलकुद प्रतियोगिताको आयोजना गरेको हो । भदौ १६ गते साझबाट रुक्मिणी माविको खेल मैदानमा सुरु भएको फुटबल प्रतियोगिता आज सम्पन्न भएको हो । मैत्रिपूर्ण फुटबल प्रतियोगितामा ६ समुहले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता बिहान अफिस समय सुरु हुनुभन्दा अघि र साझ पनि अफिस समय सकियपश्चात सञ्चालन गरिएको थियो ।