रुकुम(पूर्व) मा विभिन्न कार्यक्रम गरी १९ औ निजामती सेवा दिवस मनाइएको छ । जिल्लामा कर्मचारीबिच मैत्रिपूर्ण फुटलब तथा ब्याडमिन्टन प्रतियोगिताको आयोजना एवम् प्रभातफेरी र मञ्चको कार्यक्रम आयोजना गरेर १९ औ निजामती सेवा दिवस मनाइएको हो । जिल्ला प्रशासन कार्यालय र कर्मचारी मिलन केन्द्रको संयुक्त आयोजनामा विविध कार्यक्रम गरी निजामती सेवा दिवस मनाइएको हो ।

आज दिवसको दिनमा जिल्ला प्रशासन कार्यालय रुकुम(पूर्व) को प्राङ्गणबाट प्रभातफेरी सुरु भई छिप्रीदह पिपलबोट हुँदै कैचिमोड, मारिमापाखाबाट जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा पुगेर मञ्चको कार्यक्रम गरिएको थियो । कार्यक्रममा यस अघि कर्मचारी मिलन केन्द्रले आयोजना गरेको फूटबल र ब्याडमिन्टन प्रतियोगिताका विजेता तथा उपविजेता र सान्तवना स्थान हासिल गर्ने समुह तथा जोडीलाई नगदसहित मेडल, प्रमाणपत्र र ट्रफीले पुरस्कृत गरिएको छ भने कार्य सम्पादनमा उत्कृष्ट हुने कार्यालय र कर्मचारीलाई निजामती सेवा दिवसको अवसर पारेर पुरस्कृत गरिएको छ ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतीथी एमव् रुकुमकोट जिल्ला अदालतका न्यायाधीश श्यामप्रसाद घिमिरेले कर्मचारी वर्गलाई देशको स्थाइ सरकारको रुपमा लिने गरेको बताउनुभयो । तसर्थ कर्मचारीले मन, वचनका साथ सरकारका नीति कार्यक्रमलाई कार्यान्वयन गर्न सधै प्रतिबद्ध हुनुपर्ने न्यायाधीश घिमिरेले बताउनुभयो । “सार्वजनिक निकायमा ढिलासुस्ति, अनियमितता, झन्झटिलो प्रक्रियाको कारण सेवाग्राहीबाट गुनासो आइरहेका हुन्छन्”, उहाँले भन्नुभयो, “यी गुनासाहरु आउन नदिन र देशको समृद्धिको लागि कर्मचारीले आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ ।” कर्मचारीको जोस, जागर र भूमिकालाई उत्कृष्ट बनाउन सरकारले पनि ध्यान दिनुपर्ने भनाई उहाँको छ ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले सरकारको नीति कार्यक्रमलाई कार्यान्वयन गर्ने ठाउँमा कर्मचारी रहेको बताउदै निष्ठाका साथ आफ्नो भूमिका निर्वाह गर्न सबै कर्मचारीलाई आग्रह गर्नुभएको छ । राज्यको सिन्दुर पहिरिएका कर्मचारीले नागरिकलाई कसरी सहज र सरल तरिकाले सेवा दिन सकिन्छ भन्नेतीर ध्यान जरुरी रहेको बताउनुभयो । प्रजिअ सुनुवारले कर्मचारीलाई मन र वचनका साथ कर्म गर्न आग्रह गर्दै त्यो कर्मको राज्य र जनताले मुल्याङ्कन गर्ने बताउनुभएको छ ।

कर्मचरी मिलन केन्द्रका अध्यक्ष एवम् अनुसन्धानका डिएसपी संजिव चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला न्यायाधीश श्यामप्रसाद घिमिरेको प्रमुख र प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारको विशेष आतीथ्यता रहेको थियो । कार्यक्रममा नेपाली सेना नरसिंह दल सुरक्षा गुल्मका सेनानी बाबुलाल जिसी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रकाश डाँगी, सशस्त्र प्रहरी बल आश्रित गुल्मका प्रतिनिधि, जिल्लास्थित सम्पूर्ण कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सञ्चालन एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेत र नापी अधिकृत सुष्टि वैदारले गर्नुभएको थियो ।