रुकुम पूर्व । सिस्ने गाउँपालिकाले २२ कृषकलाई आधुनिक मौरीका घार वितरण गरेको छ । ५ नम्बर वडाको दुदिल्लागैरा र आसपासका बस्तिमा मौरी पालन व्यवसाय सञ्चालन गरिरहेका कृषकलाई घार वितरण गरिएको हो ।

आर्थिक वर्ष २०७८।०७९ को वार्षिक स्वीकृत कार्यक्रमबाट २२ कृषकलाई मौरिका घार वितरण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख दिनेश ओलीले जानकारी दिनु भएको छ । उहाँका अनुसार २२ वटा आधुनिक घार सहित दुई महदानी पनि वितरण गरिएको छ ।

मौरि पालन व्यवसाय गर्दै आएका उद्यमीहरुलाई व्यवसाय विस्तार र सक्रियताको आधारमा घार वितरण गरिएको छ । सक्रिय व्यवसायिलाई बढिमा ५ र अन्यलाई क्रमश ३, २, १ गरेर घार वितरण गरिएको ओलीले बताउनुभयो ।


विहिवार गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, उपाध्यक्ष गोपाल रेउले र ५ नम्बर वडा अध्यक्ष विरेन्द्र बस्नेतले कृषकलाई मौरिका घार र महदानी वितरण गर्नुभएको हो । घार वितरण कार्यक्रममा बोल्दै अध्यक्ष रेग्मीले निर्वाहमुखि कृषिलाई सुधार गर्दै व्यवसायिकतातर्फ लाग्न कृषकलाई आग्रह गर्नुभएको छ ।

नागरिकको जिवनस्तर बदल्न कृषिमा व्यवसायिकता आवश्यकता रहेको बताउदै अध्यक्ष रेग्मीले मेहेनतका साथ व्यवसायमा लाग्न पनि अनुरोध गर्नुभएको छ । उहाँले भन्नुभयो व्यावसाय गर्ने उद्यमीहरुलाई पहिलो चरणमा घारहरु वितरण गरिएको छ । आगामी दिनमा व्यवसाय विस्तार गर्दै लगे तपाइहरुको मागमा आधारित थप तालिम तथा सामाग्री प्रदान गर्न सिस्ने सरकार प्रतिवद्ध छ ।


यस्तै उपाध्यक्ष गोपाल रेउलेले कृषकहरुले व्यवसायिक रुपमा मौरी पालनबाट आयआर्जन वृद्धि गरि जिवनस्तर उकास्न सहयोग पुगोस् भन्ने उद्देश्यले घार र अन्य सामाग्री वितरण गरिएको बताउनुभयो । स्थानिय सरकारको लगानीलाई सदुपयोग गर्न पनि कृषकलाई उहाँले आग्रह गर्नुभएको छ । स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न मौरी पालन व्यवसायले ठुलो सहयोग गर्ने उहाँले बताउनुभयो ।

उन्नत घार र महदानी वितरण गरिएकोमा दुदिलागैरा र आसपासका बस्तिमा मौरि पालन गर्दै आएका कृषकहरु खुसी भएका छन ।