
रुकुम पूर्व । सिस्ने गाउँपालिका ३ नम्बर वडा कार्यालयको भवन मर्मत गरिएको छ । अरिवल वर्षाका कारण गाउँ माथिबाट पहाड टुक्रिएर झरेको ढुङ्गो वडा कार्यालयमा पस्दा भवन भत्किएको थियो । गत असार २० गते बस्ती माथिबाट आएको ढुङ्गाले भवनमा क्षति गरेको स्थानियले बताएका थिए । उक्त ढुङ्गाले प्रवेशद्धार, घेरबार गरिएको तारजाली र भवनको दायाँ तिरको वाल भत्काएको थियो ।
गाउँपालिकाको बजेटबाट भत्किएको भवन मर्मत गरिएको वडा अध्यक्ष हेराम खड्काले जानकारी दिनुभयो । केहि दिन उक्त ढुङ्गा व्यवस्थापनमा समय लाग्यो अध्यक्ष खड्काले भन्नुभयो गाउँपालिका स्तरको अनुगमन र प्राविधिक मुल्याकंन पछि भवन मर्मत सुरु गरेका थियौ । अहिले रङरोगन सहित पुनः निर्माणको सवै काम सकिएको छ ।
उहाँले भन्नुभयो प्राकृतिक विपत्तिबाट कार्यालयमा क्षति पुगेपछि सेवा प्रवाहमा समस्या भइरहेको थियो । पहिले नमिलेका संरचनालाई पनि नयाँ स्वरुप दिएका छौ खड्काले थप्नुभयो यसले सेवा प्रवाहमा पक्कै सहजता ल्याउने छ । भवन मर्मतका लागि गाउँ कार्यपालिका बैठकबाट एक लाख ४५ हजार बजेट छुट्याएको थियो ।