रुकुम(पूर्व) मा लागु औषध, चाड पर्वको अवसरमा शान्ति सुरक्षा र उपभोक्ता सम्बन्धि सचेतनामुलक कार्यक्रम सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय रुकुम(पूर्व) को संयुक्त आयोजनामा सचेतनामुलक कार्यक्रमको सुरुवात गरिएको छ । प्रहरी र प्रशासनले विद्यार्थीमार्फत परिवार र समाजमा सचेतना फैलाउने उदेश्यका साथ विद्यालयस्तरमा सचेतनामुलक कार्यक्रम गर्न थालेको हो ।

यहि अनुरुप आज सिस्ने गाउँपालिका ३ मा रहेको जनता माध्यामिक विद्यालय पोखराबाट कार्यक्रमको सुरुवात गरिएको छ । जिल्लाको तीन वटै पालिकाको तीनतीन वटा विद्यालयमा सञ्चालन गरिने यस सचेतनामुलक अभियानको आज औपचारिक उद्धघाटन गरिएको हो । रुकुम(पूर्व) मा लागु औषधको कारोबार र प्रयोगको अवस्था विकराल देखिएकाले यो समस्यालाई समाधान गर्न सचेतना कार्यक्रमले मदत पुग्ने भएकाले कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) का प्रहरी नायव उपरिक्षक प्रकाश डाँगीले बताउनुभयो । साथै चाडपर्व नजिकिएकाले शान्ति सुरक्षा एवम् अमनचयन कायममा खलल पुग्ने गतिविधि नियन्त्रण गर्न र अखाद्य सामाग्रीको प्रयोग नगर्न नागरिकलाई जागरण जगाउने उदेश्य कार्यक्रमको रहेको डिएसपी डाँगीले बताउनुभयो ।

जनता मावि पोखरामा सम्पन्न भएको जागरण कार्यक्रम अब यस गाउँपालिकाको कोट मावि रुमालबारा र सानोभेरी मावि लम्पाकोटमा सञ्चालन गरिने छ । भूमे गाउँपालिकाको सहिद शुक्र मावि सिमा, त्रिवेणी मावि काँक्रि र जनजागृती मावि महतमा कार्यक्रम सञ्चालन गरिने छ । यस्तै पुथा उत्तरगंगा गाउँपालिकाको पर्वत मावि कोल, सिद्ध मण्डली मावि राङ्सी र देउराली मावि हुकाममा कार्यक्रम सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ ।

सचेतनामुलक कार्यक्रमको क्रममा विद्यालयमा अध्यनरत कक्षा १० देखि १२ सम्मका विद्यार्थीलाई लागु औषध, यसको सेवन, कारोबारमा संलग्नलाई कानुनी सजाय, यसको प्रयोगले स्वास्थ्य, परिवार र समाजमा पार्ने असरको बारेमा जानकारी गराइने गरिएको छ । साथै अखाद्य सामाग्रीको प्रयोगले गर्ने असर, म्याद हेरेर सामान खरिद गर्ने कुराहरु पनि कार्यक्रममा विद्यार्थीहरुलाई जानकारी गराउने गरिएको छ ।

आज जनता माध्यामिक विद्यालय पोखरामा आयोजना गरिएको उद्धघाटन कार्यक्रमलाई संबोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले परिवारका व्यक्ति सचेत भए मात्र परिवार र समाज स्वस्थ हुने बताउनुभयो । यसरी समाज राम्रो बन्ने भनाई उहाँको छ । अहिले किशोरकिशोरीहरु विभिन्न कारणले कुलतमा लाग्ने गरेकोतीर संकेत गर्दै प्रमुख श्रेष्ठले यस सचेतनामुलक कार्यक्रमले विद्यार्थी र विद्यार्थीमार्फत परिवार, समुदायमा सकारात्मक प्रभाव पर्नेबताउनुभएको छ ।

गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिले रुकुम(पूर्व) मा विगत देखि नै लागु औषधको कारोबार हुने गरेको यसको नियन्त्रणतर्फ सबै निकाय सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो । लागु औषधको कारोबार एवम् प्रयोग नियन्त्रण गर्ने क्रममै चालिएको एउटा पाइला यो सचेतनामुलक कार्यक्रम भएकाले अध्यक्ष रेग्मिले कार्यक्रम सफलताको सुभकामना दिनुभएको छ । यस्तै प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले जिल्लामा शान्ति सुरक्षा, अमनचयन कायम गर्ने र लागु औषधको सेवन तथा ओसारपसार, उत्पादनलाई रोक्ने अभियानस्वरुप प्रहरीसँगको साझेदारीमा सचेतनामुलक कार्यक्रमको थालनी गरेको बताउनुभयो । यस कार्यक्रममार्फत सिकाइएका कुरा आफ्नो घरपरिवार र समुदायमा गएर सिकाउन विद्यार्थीलाई प्रमुख जिल्ला अधिकारी सुनुवारले आग्रह गर्नुभएको छ ।

प्रमुख जिल्ला अधिकारी सनुवारको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठको प्रमुख र सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिको विशेष आतीथ्यथा रहेको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, जिल्लास्थित सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि, वडाका जनप्रतिनिधि, शिक्षक, विद्यार्थीको उपस्थिती रहेको थियो । जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश डाँगीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन प्रहरी सहायक निरीक्षक दामोदर न्यौपानेले गर्नुभएको थियो ।