प्राचीन कालदेखि हाम्रो दिनचर्या, अभ्यास र सामाजिक जीवनको एउटा अङ्ग रहँदै आएको छ, योग र आयुर्वेद । व्यायाम, प्राणायाम र ध्यान तीनवटा चिजको सम्मिश्रणबाट योग पूर्ण हुन जान्छ । मानव जातिले स्वस्थ रहनका लागि योग अभ्यासको महत्व बुझ्दै र बुझाउदै गएका छन् ।

यसै क्रममा रुकुम(पूर्व) मा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले विभिन्न विद्यालयमा आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । स्वास्थ्य केन्द्रले विशेष गरी विद्यार्थीलाई लक्षित गरि विद्यालयमा आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको हो । विद्यालयमा विद्यार्थीलाई सिकाइएको योग र आयुर्वेदको कुराले एक त विद्यार्थी आफैलाई पनि फाइदा गर्ने र उनिहरुमार्फत यो कुरा परिवार र समुदायकहाँ पुग्ने भएकाले पनि विद्यार्थी लक्षित गरि कार्यक्रम सञ्चालन गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम(पूर्व)का निमित्त कार्यालय प्रमुख विष्णुहरी आचार्यले जानकारी दिनुभयो । नसर्ने रोग र मानसिक रोग न्यूनिकरणको भरपर्दो माध्याम योग र आयुर्वेद स्वास्थ्य उपचार रहेको उहाँको भनाई छ ।

विद्यार्थीसँग सञ्चालन गरिने योग तथा आयुर्वेद शिक्षा कार्यक्रममा आयुर्वेदको परिचयदेखि लिएर स्वस्थ आहारविहारको कुराहरु जानकारी गराइएको आयुर्वेद स्वास्थ्य केन्द्रका डाक्टर गनेश अधिकारीले बताउनुभयो । उहाँकाअनुसार विद्यालयका विद्यार्थीलाई आयुर्वेदको परिचय, स्वस्थकर, अस्वस्थकर जिवनशैली, ऋतुचर्याअनुसारको जिवनशैली, दिनचर्या, भान्सामा पाइने जडिबुडी लगाएतको विषयमा विद्यार्थीलाई जानकारी गराइएको छ ।

विद्यालयस्तरमा सञ्चालन गरिएको योग र आयुर्वेद शिक्षा कार्यक्रमले विद्यार्थीमा राम्रो प्रभाव पर्ने अपेक्षा गरिएको रुक्मिणी माध्यामिक विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर मल्लले बताउनुभएको छ ।