रुकुम(पूर्व) मा आत्महत्याको अवस्था विकराल बन्दै गएको छ । सानो जिल्ला, थोरै जनसंख्या भएको रुकुम(पूर्व) मा अहिले आत्महत्या गर्नेको तथ्याङ्क हेर्ने हो भने अवस्था विकराल रहेको देखाउने प्रहरीले जनाएको छ । जिल्लाको कुल जनसंख्या ६० हजार भन्दा कम छ । तर बर्षेणी १२÷१५ जनाले आत्महत्या गरिरहेको तथ्याङ्क जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) मा छ ।
वितेका तीन आर्थिक वर्षको तथ्याङ्कमा आत्महत्या गर्नेको संख्या हेर्ने हो भने सरदरमा उस्तै उस्तै छ । विभिन्न चेतनामुलक अभियान चलाउदै आएपनि आत्महत्या गर्नेको संख्यामा कमी आउन नसकेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) ले जनाएको छ । आर्थिक वर्ष २०७६÷७७ मा ६ जना महिला र ३ जना पुरुष गरी रुकुम(पूर्व) मा ९ जनाले आत्महत्या गरेको तथ्याङ्क प्रहरीमा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) का सुचना अधिकारी एवम् प्रहरी निरीक्षक कृष्ण खत्रीले जानकारी दिनुभयो । उहाँकाअनुसार आर्थिक वर्ष २०७७÷७८ मा आत्महत्या गर्नेको संख्या झण्डै दोब्बरले बढेकोे छ । आर्थिक वर्ष ०७७÷७८ मा १३ महिला र ४ पुरुष गरि १७ जनाले आत्महत्या गरेको तथ्याङ्क प्रहरी कार्यालयमा छ ।
यस्तै गएको अर्थात आर्थिक वर्ष २०७८÷७९ मा ८ महिला र ६ पुरुष गरि १३ जनाले आत्महत्या गरेका छन् । चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा दुई जना महिलाले आत्महत्या गरेका छन् । यसरी यो डाटालाई हेरेरे विश्लेषण गर्दा रुकुम(पूर्व) को जनसंख्याअनुसार आत्महत्याको अवस्था विकराल मानिएको छ । यस जिल्लामा कमजोर आर्थिक अवस्था, पारिवारिक बेमेल, वैदेशिक रोजगार, दिर्घ रोगको कारण, सामाजिक प्रतिष्ठामा आँच, मानसिक रोग नै आत्महत्याको मुख्य कारण रहेको प्रहरी निरीक्षक एवम् सुचना अधिकारी खत्रीले बताउनुभयो ।
आत्महत्या रोकथामको लागि प्रहरीले समुदायमा प्रहरी साझेदारी कार्याक्रममार्फत विभिन्न अभियान सञ्चालन गर्दै आएपनि अभियान प्रभावकारी सावित हुन नसकेको पाइएको छ । अशिक्षा, बेरोजगारी, परम्परागत संस्कृती, वैदेशिक रोजगार, समयमै रोगको पहिचान नहुनु, वाल विवाह, बालबालिकामाथी अभिभावकको निगरानी कमी, महिला उद्यमशिलता, महिला जागरण र शसक्तिकरणको कमी आत्महत्या रोकथामको लागि मुख्य चुनौतीको रुपमा रहेको प्रहरी निरीक्षक खत्रीले बताउनुभयो । यस्तै सरकारी तथा गैर सरकारी कार्यालयका कार्यक्रमहरु लक्षित समुदायसम्म पुग्न नसक्नु, देखासिकी, उत्सुकता, समाजिक संजालको जथाभावी बढ्दो प्रयोग, सामाजिक, आर्थिक कठिनाई, आत्महत्या गर्न प्रेरित कुराहरु पत्ता लगाई समयमै मनोपरामर्श प्रदान नहुनु लगाएतका कुराहरु पनि आत्महत्या रोकथाम तथा न्यूनिकरणमा चुनौतीको रुपमा रहेका छन् ।
यसै क्रममा आज आत्महत्या रोकथाम सम्बन्धिको चेतनामुलक कार्यक्रम रुकुमकोटमा सम्पन्न गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) को आयोजना र स्थानीय सरकार, समुदाय, सामाजिक संस्था, विद्यालयको साझेदारीमा आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धिको कार्यक्रम गरिएको हो । चेतनामुलक नारा लगाउदै रुकुमकोट बजार परिक्रमा गरेर जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा पुगी औपचारिक सभामा परिणत भएको कार्यक्रममा बोल्ने वक्ताहरुले आत्महत्यालाई निरुत्साहित गर्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्न आवश्यक भएको औल्याएका छन् ।
कार्यक्रममा बोल्दै सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिले मान्छेले अस्वभाविक गतिविधि देखाउन थाल्यो भने त्यस्ता मान्छेको निगरानी बढाउनुपर्ने बताउनुभयो । सामान्य अवस्थाको भन्दा बेग्लै खालको गतिविधि मानिसले गर्न थाल्यो भने त्यो आत्महत्याको लक्षण पनि हुन सक्ने भन्दै त्यस्ता मान्छेको निगरानी बढाउनुपर्नेमा अध्यक्ष रेग्मिले जोड दिनुभयो । बढ्दो सामाजिक संजालको प्रयोग, वैदेशिक रोजगार, ग्रामीणस्तरमा लघुवित्तबाट ऋण निकालेर तिर्न नसक्नु, पारिवारिक बेमेलको कारण आत्महत्या गर्नेको संख्यामा कमी आउन नसकेको बताउनुभयो ।
जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश डाँगीले प्रहरी एक्लैको प्रयासले आत्महत्याको घटनामा कमी ल्याउन नसक्ने भएकाले सामुहिक प्रयासको आवश्यकता रहेको बताउनुभएको छ । रुकुम(पूर्व) मा आत्महत्याको अवस्था जटिल रहेको बताउदै डिएसपी डाँगीले समुदायमा प्रहरी साझेदारी कार्यक्रममार्फत चेतनामुलक अभियान चलाउदै आएको बताउनुभएको छ ।
डिएसपी डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिको प्रमुख आतीथ्यता रहेको थियो । कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्य, सिस्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकास विक्रम शाह, सिस्ने गाउँपालिका ५ का वडाध्यक्ष बिरेन्द्र बस्नेत, ६ का वडाध्यक्ष पूर्णजंग मल्ल लगाएत जिल्लास्थित सरकारी तथा गैर सरकारी नियका प्रतिनिधि, शिक्षक, विद्यार्थी, समुदायका मानिसहरुको उपस्थिती रहेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण खत्रीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन प्रहरी सहायक निरीक्षक दामोदर न्यौपानेले गर्नुभएको थियो ।