रुकुम(पश्चिम) संवाददाता

रुकुम(पश्चिम) मा “प्रथम विनोद कप २०७९” सञ्चालन हुने भएको छ । हिन्दुहरुको महान चाड दिपावलीको अवसर पारि स्वर्गिय स्थानीय खेलाडी विनोद केसीको सम्झनामा रुकुम फुटबल क्लबले विनोद कप २०७९ को आयोजना गर्न लागेको हो ।

कपमा विजेता हुने समुहले एक लाख २५ हजारको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेता हुने समुहले ५५ हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै प्रतियोगितामा उत्कृष्ट विधाका खेलाडीहरु छनोट गरि पुरस्कृत पनि गरिने भएको छ । प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर छनोट गरि पाँच पाँच हजारको साथमा ट्रफीले पुरस्कृत गरिने छ भने उत्कृष्ट खेलाडीलाई ७ हजारको साथमा ट्रफीले पुरस्कृत गरिने रुकुम फुटबल क्लबले जनाएको छ ।

खेल २०७९ कात्र्तिक १ गतेदेखि ५ गतेसम्म सेवा केन्द्र मैदान सादनचौर मुसिकोट १३ रुकुम(पश्चिम) मा सञ्चालन हुने छ । प्रतियोगितामा सहभागी हुन चाहनेलाई दर्ता शुल्क १२ हजार पाँच सय तोकिएको छ । आगामी वर्ष हुने “सी डिभिजन क्वालीफईर” गेमको लागि उत्कृष्ट खेलाडीहरुलाई छनोट पनि गरिने आयोजकले जनाएको छ ।