रुकुम पूर्व । सिस्ने गाउँपालिकामा यस वर्ष ५० क्विन्टल बिउ माग भएको छ । हिउँदे बाली लगाउने सिजन सुरु भएसंगै किसानले गाउँपालिकामा बिउ माग गरेका छन । गाउँपालिमा खाद्यान्न र तरकारीको उत्पादन बढाउन विगत केहि वर्ष देखि गाउँपालिकाले ८० प्रतिशत अनुदानमा सिजन अनुसारको बिउ वितरण गर्दै आएको छ ।
यस वर्ष पनि बिउ मागका लागि गाउँपालिकाले १५ दिने सूचना जारी गरेको थियो । सोहि अनुसार किसानले ५० क्विन्टल बिउ मागको निवेदन दिएका कृषि शाखा प्रमुख दिनेश ओलीले जानकारि दिनुभयो । वडा र पालिकाबाट बिउ मागको निवदेन संकलन भएको थियो । १५ दिनको अवधिमा ४० क्विन्टल गहुँ र १० क्विन्टल लसुनको बिउ माग भएको प्रमुख ओलीले बताउनुभयो ।
गाउँपालिकाको ८० र सम्बन्धित किसानको २० प्र्रतिशत लगानीमा गाउँपालिकाले बिउ वितरण गर्न लागेको छ । २० प्रतिशत रकम सहित पाँच सय बढि कृषकले बिउ मागको निवेदन दिएका कृषि प्राविधिक शक्ति के.सीले जानकारी दिनुभएको छ । सवैभन्दा बढि निवेदन गाउँपालिकाको केन्द्र रुकुमकोटबाट आएको के.सी उहाँले बताउनुभयो ।
किसानलाई तत्काल वितरण गर्न उन्नत जातको गहुँ र लसुनको बिउ खरिद प्रकृया अघि बढाइएको छ । कृषकले माग गरे अनुसार बिउ उपलब्ध गराउने कृषि शाखाको तयारि छ । बर्खे बाली भित्राएर हिउदे बाली लगाउने सिजन सुरु भएसंगै किसानको आवश्यकतालाई ध्यानमा राखि गाउँपालिकाले उन्नत जातको विउ वितरण गर्न लागेको हो ।
खाद्यान्न र समलाको उत्पादन बढाई आत्मनिर्भर गाउँपालिका बनाउने उदेश्य सहित अनुदानमा किसानलाई बिउ वितरण गर्न लागिएको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो । बर्सेनी एउटै बिउ छर्दा उत्पादन घटने तथ्यलाई ध्यानमा राखि उन्नत जातको बिउ वितरण गर्न लागिएको अध्यक्ष रेग्मीले बताउनु भएको छ ।