रुकुम(पूर्व) को सिस्ने गाउँपालिकामा रहेको आपतकालिन सुरक्षित आवास गृह (सेफ हाउस) अब गाउँपालिका आफैले संचालन गर्ने भएको छ । यस अघि रुकुमकोटमा रहेको रुकुमकोट महिला बहुउदेश्यिय सहकारी संस्थाबाट संचालनमा रहेको सेफ हाउस आजकै मितिबाट गाउँपालिका आफैले संचालन गर्ने निर्णय गरिएको छ । सेफ हाउस संचालन सम्बन्धि छलफल गर्न गाउँपालिकामा बसेको बैठकले अब गाउँपालिका आफैले सेफ हाउस संचालन गर्ने निर्णय गरेको हो ।

२०७७ जेठको महिनाबाट संचालनमा आएको सेफ हाउस चलाउन यसअघि गाउँपालिकाले सहकारीलाई जिम्मा दिएको थियो । सहकारीले दुई वर्षसम्म चलाएको सेफ हाउसलाई थप व्यवस्थिततका साथ गाउँपालिकाले चलाउने निर्णय गरिएको हो । यस्तै यसै बैठकबाट सेफ हाउस संचालन सम्बन्धि कार्यविधि २०७७ लाई सरोकारवालाहरुको छलफलपछि संशोधन गर्ने निर्णय गरिएको छ । अहिले सिस्ने गाउँपालिका वडा नम्बर ५ मा रहेको सेफ हाउसको खर्च युएनएफपिए र सिद्धार्थ सामाजिक विकास केन्द्रसँगको साझेदारीमा सिस्ने गाउँपालिका आफैले मात्र उठाउदै आएको छ ।

अब जिल्लाको अन्य दुई वटा गाउँपालिका सिस्ने र भूमेसाग पनि सहकार्य गरेर सेफ हाउसलाई व्यवस्थित गराउन छलफल गर्ने निर्णय गरिएको छ । सेफ हाउसबाट जिल्लाका तीन वटै पालिकाका र छिमेकी जिल्लाका हिंसा पिडित महिला एवम् बालबालिकाहरुले सेवा लिदै आएका छन् । सिस्ने गाउँपालिका अध्यक्षको अध्यक्षतामा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवार, गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) का प्रहरी नायव उपरिक्षक प्रकाश डाँगी, सरकारी वकिल कार्यालयका सहायक न्यायधिवक्ता प्रकाश शर्मा पौडेल, रुकुम(पूर्व) अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट सपना विकलगाएत सरोकारवाला निकायका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

बैठकको सहजिकरण गाउँपालिकाका महिला विकास निरीक्षक सुनिता खड्काले गर्नुभएको थियो ।