
कर्मचारी मिलन केन्द्र रुकुम(पूर्व)ले प्रकाशन गरेको सार्वजनिक सेवा समर्पण नामक मुखपत्र विमोचन गरिएको छ । जिल्लाको समग्र पहिचानसँग जोडिएका कुराहरु र जिल्लास्थित सम्पुर्ण सरकारी कार्यालयको सेवा प्रवाहको बारेमा जानकारी गराउने उदेश्यले मुखपत्र निकालिदै आइएको छ । यस वर्ष मिलन केन्द्रले मुखपत्रको अंक दुई निकालेको हो ।
यस किताबमा जिल्लाको पहिचान झल्कने कुराहरूसँगै जिल्लास्थित सम्पुर्ण कार्यालयको सेवा प्रवाहको बारेमा उल्लेख गरिएको छ । यस्तै सन्देशमुलक लेख रचनाहरु पनि समावेश गरिएका छन् । यस मुख पत्रको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले विमोचन गर्नुभएको हो । मिलन केन्द्रले पातीहाल्नामा आयोजना गरेको वनभोज तथा दशैंको शुभकामना आदानप्रदान कार्यक्रमको अवसर पारि मुखपत्र पनि विमोचन गरिएको हो । मुखपत्र विमोचन गर्दै मिलन केन्द्रका संरक्षक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी सुनुवारले मिलन केन्द्रले गरेको मुखपत्र निकाल्ने कामको प्रशंसा गर्नुभएको छ ।
यहि मुख पत्र पढेर मात्र भएपनि मानिसहरुले जिल्लाको अवस्था र यहाँका सरकारी कार्यालयको सेवा प्रवाहको अवस्थामा बुझ्न सक्ने भएकाले पनि मुख पत्र निकाल्ने काम राम्रो भएको प्रमुख जिल्ला अधिकारी सुनुवारले बताउनुभयो ।
कर्मचारी मिलन केन्द्रका अध्यक्ष एवम् अनुसन्धानका डिएसपी संजिव चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनुवारको प्रमुख आतीथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) का प्रहरी नायव उपरिक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरी बलका डिएसपी रविन्द्र श्रेष्ठको विशेष आतीथ्यता रहेको थियो । कार्यक्रममा जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालय, गाउँपालिकाका कर्मचारीहरुको उपस्थिती रहेको थियो । भूमे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रसिंह श्रेष्ठको स्वागत मन्तव्य रहको कार्यक्रमको सञ्चालन कर्मचारी मिलन केन्द्रका उपाध्यक्ष एवम् एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतले गर्नुभएको थियो ।