रुकुम(पूर्व) मा बजार अनुगमणलाई तिव्रता दिइएको छ । नजिकिदै गरेको दशै, तिहारलाई लक्षित गरेर जिल्लाको विभिन्न ठाउँमा बजार अनुगमणको कार्यलाई तिव्रता दिइएको छ । हिजो जिल्लाको भूमे गाउँपालिकाको विभिन्न ठाउँमा अनुगमण गरिएकोमा आज सिस्ने गाउँपालिकाको मुख्य बजार एवम् सदरमुकाम रुकुमकोटको छिप्रीदहमा अनुगमण गरिएको छ ।

सिस्ने गाउँपालिकाको ६ नम्बर वडास्थित छिप्रीदहमा रहेका खाद्यान्न, मासु तथा किराना पसल र होटेलहरुको अनुगमण गरिएको हो । छिप्रीदहमा एउटा तरकारी पसल, २ वटा मासु पसल, १३ वटा होटेल, एक वटा डेरी, २ वटा मिठाई पसल र २ वटा किराना गरि जम्मा २० वटा पसलको अनुगमण गरिएको हो । अनुगमणको क्रममा दुई हजार ८ सय ३५ रुपैयाँ बराबरको म्याद गुज्रिएको बिस्कुट र पानीपुरी मसला बरामद गरि नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवम् अनुगमण समितिका संयोजक हिरालाल आचार्यले जानकारी दिनुभयो ।

उहाँकाअनुसार २० वटा पसल अनुगमण गरिएकोमा १२ वटा पसल दर्ता बिना नै सञ्चालनमा रहेको पाइएका छन् । यस्तै अधिकांसमा मुल्य सूचि राखिएको छैन् भने सरसफाईको अवस्था पनि त्यती राम्रो नभएको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । बजार अनुगमण गर्दै जादा रुकुम(पूर्व) जस्तो अली पिछडीएको ठाउँमा घुम्ति गाडीमार्फत म्याद गुज्रिन लागेका सामान ल्याएर बिक्रि वितरण गर्ने गरेको पाइएको छ । यहाँका नागरिकले सामान खरिद गर्दा उत्पादन र उपभोग गर्ने मिति कहिलेसम्म छ भनेर हेर्ने गरेका छैनन् । व्यवासायीहरुले पनि यी कुराहरुको याद नगर्दा बाहिरबाट गाडी ल्याएर सामान बेच्नेहरुले यसको फाइदा उठाइरहेका छन् ।

अनुगमणको क्रममा यस्ता गाडीहरुलाई पनि कारबाही तथा जरिवाना तिराइएको अनुगमण टोलीले जनाएको छ । अन्य बेलामा पनि रुकुम(पूर्व) मा बजार अनुगमण हुँदै आएकोमा अहिले चाडपर्वलाई लक्षित गरि अनुगमण तिव्र पारिएको छ । अनुगमणमा सहायक प्रमुख जिल्ला अधिकारी आचार्यसँगै घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत मधुकर डाँगी, उद्योग बाणीज्य संघका महासविच भरत बुढालगाएतको उपस्थिती रहेको थियो ।