
रुकुम पूर्व । सिस्ने गाउँपालिकाले किसानलाई अनुदानमा बीउ वितरण सुरु गरेको छ । गाउँपालिकाले मंगलबार देखि गाउँपालिका कार्यालयबाट अनुदानमा बिउ वितरण गर्न सुरु गरेको हो । गहुँ र लसुनमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्धेश्यले उन्नत जातको गुहँ र लसुनको बीउ वितरण गर्न सुरु गरिएको कृषि शाखा प्रमुख दिनेश ओलीले बताउनुभयो । किसानको २० प्रतिशत र गाउँपालिकाको ८० प्रतिशत लगानीमा बीउ विरतण गर्न थालिएको छ ।
उहाँका अनुसार गाउँपालिकाका ७ वडाका एक हजार दुई सय किसानलाई गहुँ र सात सय किसानलाई लसुनको बीउ वितरण गर्न लागिएको छ । प्रति किसान न्युनतम पाँच देखि अधिकतम १५ किलोसम्म गहुँ र न्युनतम तीन देखि पाँच किलोसम्म लसुनको बिउ वितरण भइरहेको छ ।
गाउँपालिकाबाट ५ र ६ नम्बर वडाका किसानलाई विउ वितरण सुरु गरिएको छ । २, ३, ४, ७ र ८ नम्बर वडाका किसानलाई सम्बन्धित वडा कार्यालयमा बिउ वितरण गरिने कृषि प्राविधिक शक्ति केसीले जानकारी दिनुभयो । अवको केहि दिनमा वडाबाट वितरण हुनेछ ।
मंगलबार वडा नम्बर ५ र ६ का ८४ किसानलाई ९८६ केजी गहुँ र २५१ केजी लसुनको बितरण गरिएको छ । गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, उपााध्यक्ष गोपाल रेउले, प्रमुख प्रशासकीय अधिकृत बिकास विक्रम शाह र प्रशासकीय अधिकृत चिन्तामणि दाहालले किसानहरुलाई बीउ वितरण गर्नुभएको हो । बीउ वितरण गर्नुहुँदै गाउँपालिका अध्यक्ष रेग्मीले व्यवसायीक उत्पादनमा लाग्न किसानहरुलाई आग्रह गर्नुभएको छ । १ नम्बर वडामा चिसोका कारण उन्नत जातको बिउले उत्पादन नदिने हुदाँ वितरण गरिएको छैन ।