
रुकुम पूर्व । सत्ता गठबन्धन दल नेपाली काङग्रेस र नेकपा माओबादी केन्द्रले गठबन्धनको निर्णय नमान्नेलाई कार्वाहीको चेतावनी दिएका छन । आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि गठबन्धन दलको निर्णय विरुद्ध स्वतन्त्र उम्मेदवारी घोषणा गरेका नेता कार्यकर्तालाई चेतावनी दिइएको छ ।
केन्द्रीय गठबन्धन दल र जिल्लाको निर्णय विपरित स्वतन्त्र उम्मेदवारी दिएका पार्टीका नेताकार्यकर्ताले उम्मेदवारी फिर्ता गर्ने अन्तिम समयसम्म पनि आफनो उम्मेदवारी फिर्ता नलिएपछि प्रेस विज्ञप्ति मार्फत गठबन्धन दलले कार्वाहिको चेतावनी दिएको हो ।
मंसिर ४ गते हुन गैरहेको प्रतिनिधिसभा एवं प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि गठवन्धनको तर्फवाट साझा उम्मेदवारी दिने कार्य सम्पन्न भएको छ । यसै सन्दर्भमा गठवन्धनको केन्द्रीय निर्णय अनुसार जिल्लामा प्रतिनिधिसभा सदस्य उम्मेदवार श्री पूर्णवहादुर घर्ती र प्रदेश सभा सदस्य क्षेत्र नं १ वाट उम्मेदवार श्री तेजबहादुर ओली नेकपा माओवादी केन्द्र र प्रदेश सभा सदस्य क्षेत्र नं २ वाट श्री धनबहादुर केसी नेपाली काङ्ग्रेस गठवन्धनको साझा उम्मेदवार भएकोले गठवन्धनमा आवद्ध दलहरुले दृढतापूर्वक एक मतकासाथ विजयी गराउने प्रतिवद्धता व्यक्त्त गर्दछौं । विज्ञप्तिमा भनिएको छ ।
गठवन्धन दलको केन्द्रीय भावना विपरित पार्टीको निर्णयलाई अवज्ञा गरि स्वतन्त्र उम्मेदवारी दिएका व्यक्तिहरुलाई सम्बन्धित पार्टी संगठनवाट निस्कासन गर्ने तथा सम्पूर्ण जिम्मेवारीवाट हटाउनुका साथै पार्टीबाट कुनै पनि प्रकारको सहयोग नगर्ने पनि विज्ञप्तिमा भनिएको छ ।
मौलाउदै गएको अराजकता, निरङ्कुशता र संघिय गणतन्त्र विरोधी शक्ति तर्फ सचेत हुँदै वाम लोकतान्त्रिक उम्मेदवारका लागि सम्पूर्ण शक्ति केन्द्रीत गर्दै निर्वाचन अभियानमा होमिऔं, विजय सुनिश्चित छ । बुधबार साझ गठबन्धन दलमा आवद्ध नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समितिका संयोजक होमप्रकाश श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला सभापति केशरमान रोका मगर र नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष भीउमान घर्ती मगरले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ ।