रुकुम(पूर्व) मा विपदमा हुने उद्धार सम्बन्धिको नमुना अभ्यास गरिएको छ । जिल्लामा सडक दुर्घटनामा परेकाहरुलाई कसरी उद्धार गर्न सकिन्छ भन्ने कुराको जानकारी गराउने उदेश्यले नमुना अभ्यास गरिएको छ । सिस्ने गाउँपालिका वडा नम्बर ५ स्थित ठाँटी डाँडाँ नजिकैको सडक छेउमा यो नमुना अभ्यास गरिएको हो ।

आर्थिक वर्ष २०७९÷०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यालयको आयोजनामा नमुना अभ्यास गरिएको हो । नेपाली सेनाको नरसिंह दल गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गुल्मको संयुक्त टोलीले उद्धारको नमूना अभ्यास गरेको हो । नरसिंह दल गणका ६ जना, नेपाल प्रहरीका २ जना र सशस्त्र प्रहरी बलका ५ जना गरेर नमूना अभ्यास टोलीमा १३ जनाको सहभागिता रहेको थियो ।

विपदमा परि घाइते भएकाहरुको उद्धार साथसाथै जिल्लामा भएका स्रोत साधनलाई परिचालन कसरी गर्न सकिन्छ भन्ने कुराको अभ्यास स्वरुप यो कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले बताउनुभयो । जिल्लामा विपदमा खटिने टिम तयारी अवस्थामा रहने र त्यहि तयारी टिमलाई यो नमुना अभ्यासले पूनर्ताजकी पनि गरेको प्रमुख जिल्ला अधिकारी सुनुवारले बताउनुभयो ।

रुकुम(पूर्व) मा सडक विस्तार तिव्र रुपले भइरहेको र विगतको तथ्याङ्कलाई हेर्दा सडक दुर्घटना पनि बढेको कारण सडक दुर्घटनामा परेर घाइते भएकालाई कसरी उद्धार, प्राथमिक उपचार गरि अस्पतालसम्म पुर्याउन सकिन्छ भन्ने कुराको जानकारी गराउन यो नमुना अभ्यास गरिएको नरसिहं दलका गणपती बाबुलाल जीसीले बताउनुभयो । यो अभ्यासले समुदायमा राम्रो सन्देश दिने पनि उहाँले बताउनुभयो । नमुना अभ्यासमा सिस्ने गाउँपालिकाको यम्बुलेन्स प्रयोग गरिएको थियो ।

नमुना अभ्यास कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख मेघबहादुर श्रेष्ठ, उपप्रमुख मोहनबहादुर केसी, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मि, प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवार, गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, सहायक प्रमुख जिल्ला अधिकारी हिरालाच आचार्य, अनुसन्धान प्रमुख संजिव चौधरी, नेपाली सेनाका गुल्मपती बाबुलाल जिसी, जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश डाँगी, सशस्त्र प्रहरीका डिएसपी रविन्द्र श्रेष्ठको उपस्थिती रहेको थियो ।