आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सर्वदलीय तथा सर्वपक्षीय सहित निर्वाचन आचारसंहिता बैठक रुकुम(पूर्व) मा सम्पन्न भएको छ । आज जिल्ला प्रशासन कार्यालयमा मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेको अध्यक्षतामा बैठक बसेको हो । बैठकमा निर्वाचन, मतदाता सुरक्षा, राजनितिक दल, जनवर्गीय संगठनको भुमिका, आचारसंहिताको विषयमा छलफल भएको छ ।
निर्वाचनमा राजनीतिक दल, उम्मेद्वार, दलका भातृ संगठन, पत्रकार, सञ्चारकर्मीले पालना गर्नुपर्ने आचारसंहिताको बारेमा जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी गराउनुभएको थियो ।
बैठकले छलफलबाट निर्वाचन लक्षित विभिन्न निर्णयहरु गरेको छ । बैठकले निर्वाचन आयोगले तय गरेको निर्वाचन आचारसंहिता २०७९ कै पेरिफेरीमा रहेर निर्णय गरेको छ । सर्वपक्षिय छलफलबाट भएको निर्णय कार्यान्वयनमा पनि सबैले जोड दिने बैठकमा सहभागिहरुले बताएका छन् ।
मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेको अध्यक्षतामा बसेको बैठकमा जिल्लास्थित विभिन्न राजनितिक दलबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा उम्मेद्वारि दिएका व्यक्ति, जिल्ला समन्वय समितिका प्रमुख, उप प्रमुख, गाउँपालिका अध्यक्ष, सुरक्षा निकायका प्रमुख, पार्टिका भातृ संगठनका प्रमुख एवं प्रतिनिधिको उपस्तिथि रहेको थियो । बैठकको सहजीकरण प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले गर्नुभएको थियो भने सञ्चालन सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले गर्नुभएको थियो ।