मोटरसाइकल दुर्घटनामा परि घाइते हुनुभएका प्रदिप खत्रीको लागि उपचार रकम संकलन गरिएको छ । रुकुम(पूर्व) सिस्ने गाउँपालिका वडा नम्बर ३ पाँगा स्थाई घर भई रुकुमकोट बस्दै आउनुभएका खत्रीको उपचारको लागि आर्थिक रकम संकलन गरिएको हो । घाइते खत्रीको उपचारको लागि पत्रकार मदन विसीले सहयोग रकम संकलन अभियान चलाउनुभएको थियो ।

विसीले चलाएको अभियानबाट दुई लाख ८१ हजार ६ सय १५ रुपैयाँ सहयोग रकम संकलन भएको हो । यस अभियानमा एक सय भन्दा धेरै व्यक्तिले पाँच सयदेखि दश हजारसम्मको सहयोग गर्नुभएको थियो । आर्थिक अवस्था निकै रहेको खत्रीको उपचारको लागि पैसा नभएपछि सहयोग अभियान चलाईएको पत्रकार विसीले बताउनुभयो । यसमा सबैको सहयोगले सफल भएको पनि उहाँको भनाई छ ।

खत्रीको परिवारलाई आज संकलन भएको रकम हस्तान्त्रण गरिएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यका उम्मेद्वार पूर्ण बहादुर घर्ती, निर्वाचन क्षेत्र नम्बर ख का बाम गठबन्धनका उम्मेद्वार धनबहादुर केसी र स्वतन्त्र उम्मेद्वार केशव रावलले हस्तान्त्रण गर्नुभएको हो । खत्रीको घुडाको जोर्नी छुट्टीएर अलग भएको छ । खत्रीको रुकुम पुर्व अस्पताल, जिल्ला अस्पताल सल्ले रुकुम पश्चिम र मिसन अस्पताल चौरजहारिमा उपचार सम्भव नभएपछि बाकेको नेपालगन्ज स्थित वेष्टर्न हस्पिटल प्रालिमा उपचारको लागि लगिएको थियो । अहिले उहाँको उपचार त्यहि भइरहेको छ ।

उपचार खर्च थेग्नै नसक्ने अवस्थामा यसरी उपचार खर्च जुटाएर सहयोग गरेको भन्दै परिवारले धन्यवाद दिएका छन् ।