रुकुम(पूर्व) मा कृषि तथा खाद्य सुरक्षा र आर्थिक विकासको क्षेत्रमा सहयोग पुर्याउने १० जनालाई सम्मान गरिएकोे छ । ४२ औ विश्व खाद्य दिवस २०७९ को अवसर पारि कृषि तथा खाद्य सुरक्षा र आर्थिक विकासको क्षेत्रमा टेवा पुर्याउने १० जनालाई एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालयले सम्मान गरेको हो ।

कार्यालयले एक कार्यक्रमको आयोजना गरि जिल्लाका व्यावसायिक तरकारी बालीतर्फ निशा शाही हमाल, भैंसी पालनतर्फ बसन्त मल्ल, मौरी पालनतफए मोतीलाल खड्का, बंगुर पालनतर्फ ढोर पुनलाई सम्मान तथा पुरस्कृत गरिएको छ । यस्तै बाख्रा पालनतर्फ पदम पुन, ललसुन खेतीतर्फ विजय ओली, भेडा पालनतर्फ धनबहादुर बुढा र फलफुलतर्फ स्याउ खेती गर्ने बिनकुमार बुढालाई सम्मान तथा पुरस्कृत गरिएको छ ।

यस्तै कृषिको क्षेत्रमा कलम चलाएर सहयोग गरेको भन्दै पत्रकार सर्जना कार्कीलाई कार्यालयले सम्मान गरेको छ । उहाँहरु सबैलाई कार्यालयले नगद र कदर पत्रले सम्मान गरेको छ । उत्पादन, पाेषण र वातावरणमा सुधार, सुखी जीवनको आधार भन्ने नाराका साथ आज ४२ औ विश्व खाद्य दिवस २०७९ मनाइएको छ ।