
आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफुले जितेपछि रुकुम(पूर्व) को विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रदेश सभाको निर्वाचनमा जिल्लाबाट क्षेत्र नम्बर १ का उम्मेद्वार बन्नुभएका तेजबहादुर ओलीले बताउनुभएको छ । संयुक्त लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेद्वार बन्नुभएका नेता ओलीले आज जिल्लाको भूमे गाउँपालिका २ खाबाङमा बसेको निर्वाचन क्षेत्र नम्बर क कमाण्डको एरिया बैठकलाई संबोधन गर्दै यस्तो बताउनुभएको छ ।
गएको पाँच वर्षे कार्यकालमा सांसद भएर जिल्लाको लागि सक्दो विकास गरेको बताउदै उहाँले आगामी चुनावबाट विजयी भएमा प्रदेशसभाको कार्यकारी भूमीकामा पुगेर जिल्लाको समग्र विकासलाई जोड दिने प्रतिबद्धता जनाउनुभएको छ । रुकुम(पूर्व) प्रदेशको एक मात्र हिमाली, विकट, र अर्गानीक घोषणा गरिएको जिल्ला भएकाले यहाँको विकास, पिछडिएका समुदायको उत्थानको लागि लड्ने बताउनुभयो । रुक्मेली जनताले अमुल्य भोट दिएर जिताएको खण्डमा आम नागरिकको भावनालाई संबोधन गरेर काम गर्ने उहाँको भनाई छ ।
यस्तै उहाँले समयको मागले गठबन्धनलाई जन्माएको बताउदै मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धनका उम्मेद्वारलाई विजयी गराउन अफिल गर्नुभएको छ । बैठकलाई संबोधन गर्दै गठबन्धन दलका नेताहरुले निर्वाचन क्षेत्र नम्बर १ मा कूनै पनि हालतमा चुनाव हार्ने अवस्था नभएको तर अध्याधिक बहुमत कसरी ल्याउने भन्ने कुरा मात्र रहेको बताएका छन् । जनमत आफ्नो पक्षमा रहेको पनि गठबन्धन दलका नेताहरुले दाबी गरेका छन् ।