रुकुम(पूर्व) मा रातीको ९ बजेसम्म मात्र देउसी भैलोको कार्यक्रम सञ्चालन गर्न पाइने भएको छ । राती ९ बजेभन्दा पछि देउसी भैलोको कार्यक्रम सञ्चालन गर्न नपाइने जिल्ला प्रशासन कार्यालय रुकुम(पूर्व) ले एक सुचना जारी गर्दै जानकारी गराएको छ । जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै देउसी, भैलो, नाचगान जस्ता कार्यहरु रातीको ९ बजेभित्र मात्र शान्तिपूर्वक रुपमा संचालन गर्न जिल्ला प्रशासन कार्यालयले नागरिकलाई अनुरोध गरेको छ ।

यस्तै बिजुली एंव, मैनबत्ति, पाला, दियो जस्ता सामाग्रीको प्रयोग गर्दा सावधानिपूर्वक गर्न र पटका, अत्तिसबाजी, झिरझिरे, भूइचम्पा जस्ता प्रज्वलनशिल विष्फोटजन्य पदार्थ प्रयोग नगर्न साथै यस्ता सामाग्रीको निकासी, ओसारपसार एवम् विक्रि वितरण नगर्न÷नगराउन प्रशासनले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । मादक पदार्थ सेवन गरि सार्वजनिक स्थानमा होहल्ला एवम् झै झगडा नगर्न, जुवातास लगाएत कानुन विपरितका कार्य नगर्न भनिएको छ ।

भिडभाडजन्य गतिविधि गरी समाजमा अशान्ति एवम् अशोभनिय क्रियाकलापजन्य कार्यहरु नगर्न, देउसी भैलो कार्यक्रम सार्वजनिक यातायात र जनजिवनलाई असर नपर्ने गरि मर्यादित एवम् अनुशासित रुपमा सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय रुकुम(पूर्व) ले आग्रह गरेको छ । यस्तै जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) ले नियम विपरितका कार्य गरे वा गराइएको खण्डमा कानुनअनुसार कारबाहि गर्ने जानकारी गराएको छ ।