रुकुम(पूर्व) प्रदेश सभा निर्वाचन क्षेत्र नम्वर ख का स्वतन्त्र उम्मेदवार केशव रावलले गृह वडाबाट चुनावी अभियान सुरु गर्नुभएको छ । आइतबार काठमाडौबाट स्यालापाखा चुनावि अभियान सुरुवात गर्नका लागि गृह वडामा पुगेका रावलाई सहिद परिवार समाजले शुभकामना कार्यक्रम राखेर स्थानीय र निवर्तमान जनप्रतिनिधि र माओवादि केन्द्रका जिम्मेवार नेता कार्यकर्ताको समर्थनमा गाजाबाजा सहित सहिद स्मृति भवनमा स्वागत गरिएको हो ।

यहि स्यालापाखाको अभियानबाटै रावलले चुनावि प्रचारप्रसार र घरदैलो अभियान सुरु गर्नुभएको छ । भुरुङ्गा टोलदेखि स्यालापाखामा अभियानको थालनी गरिएको छ, भने सेडुल अनुसार निर्वाचन क्षेत्रका सबै ठाउँमा पुग्ने बताइएको छ । केशव रावल नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष समेत हुनुहुन्छ । उहाँले जिल्लामा भएको गठबन्धनको नाममा गलत व्यक्तिको उम्मेदवारि परेकोले आफुले उम्मेदवारी दिएको बताउदै आउनुभएको छ ।

गृह वडा पुगेका रावलले रुकुमको बिकास र समृद्धिका लागि उम्मेदवारी दिनुपरेको बताउनुभयो । रावलले थप्नुभयो, “गठबन्धन जोगाउन काग्रेसलाई टिकट दिए पनि जसले कांग्रेस जोगाउन लागेका थिए ती मान्छे नभई कहिल्यै राजनीतिमा स्कुलिङ नभएको व्यक्तिले टिकट पाएका छन् । यो जनयुद्ध आन्दोलन र उपलब्धि रक्षाको विपरित भएकोले आफुले जनताको मर्म अनुसार बाध्य भएर उम्मेदवारी दिनुपरेको हो ।” उहाँ मसिंर ४ गतेको निर्वाचनमा जिप चिन्हबाट चुनावमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।