आगामी मंसिर ४ गते हुन लागेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनामा गठबन्धनको निर्णय विरुद्ध उभिएका नेकपा माओवादी केन्द्र रुकुम(पूर्व) का ७ जना नेतालाई कारबाही गरिएको छ । गठबन्धनको निर्णय विरुद्धमा गएर स्वतन्त्र उम्मेद्वारी दिएका र उनिहरुका समर्थकलाई पार्टीको जिम्मेवारीबाट मुक्त गरिएको नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको छ ।

पार्टीबाट जिम्मेवारीमुक्त हुनेहरुमा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कार्यालय सदस्य रामसुर बुढामगर, प्रदेश सचिवालय सदस्य पुनिराज घर्ती, प्रदेश सदस्यहरु सुरुल पुन, संगम रोका, तथा सिस्ने गाउँपालिका समिति सचिवालय सदस्य चन्द्रराज झाक्री, विद्यार्थी संगठनका केशव रावल, जिल्ला समन्वय समिति सदस्य कालीप्रसाद रोकालाई कारबाही गरी पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति संयोजक होमप्रकाश श्रेष्ठले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार कारबाहीमा परेका रामसुर बुढा, सुरुल पुन, संगम रोका र कालिप्रसाद रोकाले प्रदेशसभाको निर्वाचन क्षेत्र नम्बर १ बाट गठबन्धनको आधिकारीक उम्मेद्वारको विरुद्धमा उम्मेद्वारी दर्ता गराउनुभएको थियो । पछि संगम रोकाको उम्मेद्वारी खारेज भएको थियो भने सुरुल पुनलाई समर्थन गर्दै रामसुर बुढा, कालीप्रसाद रोकाले उम्मेद्वारी फिर्ता लिनुभएको थियो । निर्वाचन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेद्वारसँगै उहाँका समर्थक र प्रचारप्रसार गर्दै हिडेका जिम्मेवार नेतालाई पार्टीले कारबाही गरेको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रुकुम(पूर्व) ले जानकारी दिएको छ ।

यस्तै कारबाहीमा परेका चन्द्रराज झाक्रिले प्रतिनिधिसभामा उम्मेद्वारी दर्ता गराउनुभएको छ भने केशव रावलले प्रदेशसभाको निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेद्वारी दर्ता गरि चुनावी अभियान सञ्चालन गर्नुभएको छ । उहाँहरुलाई पार्टीको आधिकारीक उम्मेद्वार एवम् गठबन्धनको विरुद्धमा उम्मेद्वारी दर्ता गराएको, गठबन्धनका विरुद्धमा वक्तव्यबाजी गरेको, पार्टीमा गुटबन्दि जस्ता कार्य गरि पार्टीको हित र नियम विपरित कार्य गरेको भन्दै कारबाहि गरिएको कुरा विज्ञप्तीमा जानकारी गराइएको छ ।

रुकुम(पूर्व) मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका पूर्ण बहादुर घर्ती उम्मेद्वार बन्दा प्रदेशसभाको निर्विाचन क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका तेजबहादुर ओली र क्षेत्र नम्बर ख मा नेपाली काग्रेसको तर्फबाट धनबहादुर केसी उम्मेद्वार बन्नुभएको छ । गठबन्धनका साझा उम्मेद्वारलाई चुनाव जिताउन सबैमा अपिल पनि गरिएको छ ।