रुकुम पूर्व । नेकपा एमाले रुकुम पूर्वले प्रदेश सभा क्षेत्र नम्बर (क) का प्रदेश सभा सदस्य पदका उम्मेदवार तेजेन्द्र बुढा मगरको उम्मेदवारी निष्कृय बनाएको छ । एमालेले पार्टी भित्रका उम्मेदवारको उम्मेदवारी निष्कृय गरि स्वतन्त्र उम्मेदवार सुरुल पुनलाई समर्थन गरेको हो । विज्ञप्ति मार्फत एमालेले यस विषयमा स्वतन्त्र उम्मेदवार पुनलाई समर्थन गरेको जनाएको छ ।
माओबादी केन्द्रले पार्टी भित्रका इमान्दार नेता, कार्यकर्ता, योद्धा, द्वन्द्वपीडित परिवार र पिछडिएको क्षेत्रका जनतालाई बेवास्ता गरि पटक पटक अवसर पाइरहेका पात्रलाई नै यस पटकको निर्वाचनमा पनि उम्मेदवार बनाएको भन्दै नेतृत्वको स्वच्छाचारी निर्णयको विरुद्धमा स्वतन्त्र उम्मेदवारी दिएका सुरुल पुन (अजयशक्ति) लाई जिताउन नेकपा एमालेका प्रदेश सभा सदस्य उम्मेदवार तेजेन्द्र बुढाको उम्मेदवारी निष्क्रिय गरिएको छ, एमालेका जिल्ला अध्यक्ष टोप बहादुर ओलीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
एमालेले स्वतन्त्र उम्मेदवार पुनको चुनाव चिन्ह बिजुलीको बल्बमा मतदान गरी विजयी गराउन आफ्ना सबै कार्यकर्ता र मतदातालाई अनुरोध गरेको छ । माओवादी भित्र चरम दक्षिणपन्थी, अवसरवाद, सत्ता लिप्सा, परिवारवाद, स्वच्छाचारी, सर्वसत्तावादी चिन्तन र कार्यशैली हावी भएको पनि एमालेले आरोप लगाएको छ ।
यसका विरुद्ध माओवादी केन्द्र भित्रका स्वाभिमानी सचेत नेतृत्व तथा कार्यकर्ता पंक्तिले स्वतन्त्र उमेदवार खडा गरेर लिएको पहलकदमीलाई नेकपा एमालेको जनमतबाट साथ सहयोग पु¥याउँदा कम्युनिष्ट पार्टीभित्र मौलाई रहेको गलत प्रवृत्तिलाई पराष्ट गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ, विज्ञप्तीमा भनिएको छ ।
यसैबिच प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फका उम्मेदवार कैलाशकुमार मल्ल, प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर (ख) का उम्मेदवार भावना बुढाथोकी र समानुपातिक तर्फका उम्मेदवार सरिता पुनलाई भने पार्टीकै चुनाव चिन्हमा मतदान गर्न अपिल गरेको छ ।