रुकुम पूर्व । भूमे गाउँपालिका ६ को महत गाउँमा गोरु जुधाइ प्रतियोगिता सम्पन्न भएको छ । हरेक वर्ष लक्ष्मी पुजाको दिन संचालन गरिने गोरु जुधाई प्रतियोगिता यस वर्ष पनि आयोजना गरिएको थियो ।

गाउँ खरदारी समितिको आयोजनमा संचालन गरिएको उक्त प्रतियोगितामा स्थानीय मनकुमार बुढाको गोरु प्रथम भएको छ । प्रतियोगितामा अर्का स्थानीय राज बुढाको गोरु दोस्रो र कमल बुढाको गोरु तेस्रो भएको आयोजक समितिका अध्यक्ष दलराज बुढाले जानकारी दिए । ८ वटा गोरु बीच प्रतिस्पर्धा भएको थियो ।


प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान प्राप्त गरेका गोरु धनीलाई नगद पुरस्कार समेत वितरण गरिएको छ । अध्यक्ष बुढाका अनुसार प्रथमलाई चार हजार पाँच सय, द्धितीयलाई तीन हजार पाँच सय र तृतीयलाई दुई हजार पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

वर्षाको सिजनमा लेक तिर उकालिएका गोरुलाई दशै तिहारमा गाउँतिर झार्ने र वर्षामा कसले गोरुको राम्रो हेरचाह ग¥यो भन्ने थाहा पाउन प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । यति मात्र नभएर दिपावलीलाई थप हर्ष र उल्लासमय बनाउन पनि प्रतियोगिता आयोजना गरिएको राजु बुढा मगरले जानकारी दिए ।

प्रतियोगितामा प्रथम भएका गोरु धनी मनकुमार बुढालाई अविर आवरण र सांस्कृतिक झाँकी सहित प्रतियोगिता स्थलबाट घरसम्म लगिएको बुढा मगरको भनाई छ । रुकुम पूर्वमा भूमे गाउँपालिकाको महत गाउँमा मात्र गोरु जुधाई प्रतियोगिता सञ्चालन गर्ने गरिएको छ ।