रुकुम पूर्व । जिल्लाको सिस्ने गाउँपालिका ५ स्थित कमलदह परिसरमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ । रुकुमकोटका समाजसेवी तथा पर्यटनप्रेमी दिलिप थापाको आर्थिक सहयोगमा कमलदह परिसरमा बुधबार राष्ट्रिय झण्डा राखिएको हो ।

पछिल्लो समय कमलदह जिल्लाको महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा विकास भइरहेको छ । यहाँ दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने गरेका छन् ।

रुकुमकोट उपत्यकाको पूर्वी दक्षिण भागमा अवस्थित कमलदहमा शुभ दिपावलीको अबसरमा राष्ट्रिय झण्डा राखिएको समाजसेवी तथा पर्यटन प्रेमी थापाले बताए । कमलदह प्रवेश गर्ने मुल गेट भित्र राष्ट्रिय झण्डा राखिएको छ । करिव १२ मिटर अग्लो विद्युतको पोलमा ५ मिटर अग्लो राष्ट्रिय झण्डा राखिएको थापाको भनाई छ ।

राष्ट्रिय झण्डाको माध्यमबाट पर्यटन प्रवर्धन गर्न, कमलदह र रुकुमकोट उपत्यकालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउन झण्डा राखिएको थापाले बताए । उनका अनुसार जिल्लामै पहिलो पटक कमलदह परिसरमा ठुलो झण्डा राखिएको हो । ५ नम्बर वडा अध्यक्ष बिरेन्द्र बस्नेतको पहलमा नेपाल विद्युत प्राधिकरणले झण्डा राख्ने पोल उपलब्ध गराएको थियो ।

कमलदह सरसफाई अभियानका अभियानता केशब चन्द्र शमाल (मदन शाह), जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वको प्रहरी टोली र स्थानीयले झण्डा राख्ने कार्यक्रममा सहयोग गरेका थिए । थापाले यसअघि पनि पर्यटकीय स्थल नाग मन्दिरमा राष्ट्रिय झण्डा राखेका थिए ।

कमलदह किन घुम्ने ?
एकाछेउमा मानव बस्ती, अर्को छेउमा बाक्लो जंगल, त्यसकै बीचमा कमलदह । त्यहीँबाट आँखैअघि देखिने लालपाटन, लोरी लेख र अन्य अग्ला अग्ला पहाडहरु । पहिलोपटक कमलदह आउने जो कोहीलाई पनि लाग्दो हो, दिनभर दहको सौन्दर्यसँगै रमाइरहुँ । त्यति मात्र होइन, कमलदहको निलो दृष्यसँगै कमल फूलको सौन्दर्य पनि निकै मनमोहक देखिन्छ ।


दुर्लभ जडिबुटी कमल र कमलका जरा पाइने नेपालकै एकमात्र कमलदह पर्यटकीय महत्वका हिसाबले पनि निकै महत्वपूर्ण छ । यो दहसँगै वरपर आधा दर्जन मठमन्दिर, जता हे¥यो उतै शुन्दर लाग्ने रुकुमकोट उपत्यका, नजिकै रहेका देउराली गुफ्फा, झुम्कामारे सहिद पार्क, ऐतिहासिक द्धोन्द्ध स्थल, नाग मन्दिर, सप्तऋषि धारा र सानीभेरी नदिले पनि पर्यटकहरुको रोजाइमा कमलदह पर्ने गरेको छ ।

धार्मिक तथा पर्यटकीय दुबै हिसाबले महत्वपूर्ण मानिएको कमलदहमा विभिन्न प्रजातिका जलपन्छिहरुले डुबुल्कि मारेको हेर्दा जो कोहिलाई आन्दित तुल्याउछ । कमलदह वरपर वर्षेनी शिवरात्री, चैते दशै, हरितालिका तिज, वडादशैमा रमाईला कार्यक्रमहरु आयोजना हुने गरेका छन । यस्तै बेलाबेलामा कमलदह पर्यटन महोत्सब पनि लाग्ने गरेको छ ।

ग्रीष्म ऋतु देखि कमलदहमा कमलका हरिया पातहरु देख्न सकिन्छ । यि पात र डाठहरु विस्तारै बर्षा देखि शरद ऋतुसम्म कमलदहमा फुल्न थाल्छन । शिशिर ऋतुमा जन्डिसको लागि अचुक औषधी मानिएको कमलको जरा दहबाट निकाल्न थालिन्छ, भने हेमन्त ऋतुमा विभिन्न प्रजातिका आकर्षक प्रकृतिका घुमन्ते चराहरु कमलदहमा बास बस्न आउने गरेकाले पनि कमलदह थप आकर्षक मानिन्छ ।


कमलदह जिल्ला सदरमुकाम रुकुमकोट उपत्यकाको करिव एक किलोमिटर क्षेत्रफलमा फैलिएको छ । काठमाडौँ, पोखरा, बाग्लुङ, बुटवल, दाङ, नेपालगञ्ज र सुर्खेत जस्ता देशका प्रमुख शहरबाट यहाँ सजिलै पुग्न सकिन्छ । कमलदहसंगै मध्यपहाडि लोकमार्ग छ । जसले गर्दा पनि यातायातको माध्यमबाट कमलदहको सजिलै पुग्न अवलोकन गर्न सकिन्छ ।