रुकुम पूर्व । रोल्पाको सुलिचौरमा बुधबार दिउँसो जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । १२ जना घाइते भएका छन् । रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ सुलिचौर बजारको सेवा केन्द्र नजिकै  सुलिचौरबाट गजुलका लागि छुटेको लु १ ज ३२३४ नम्बरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा दाङको घोराही उपमहानगर पालिकाका ६० वर्षीय नारायण रिजाल, ५८ वर्षीय विष्णु रिजाल र ५० वर्षीया फाम्सी केसीको रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

एक्कासि ब्रेक फेल भएपछि अनियंत्रित भइ दुर्घटना भएको प्रहरीले अनुमान गरेकाे  छ । जीपमा सवार यात्रुहरु तिहारको टीका लगाउन आफन्तकोमा जादै गरेको बताइएको छ । दुर्घटना भएको स्थानमा अहिले प्रहरीको टोली र स्थानीय वासीले घाइतेको उद्धार गरिरहेका छन् ।

दुर्घटनामा परी घाइते भएका मध्ये पाँच जनाको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर र सात जनालाई थप उपचारका लागि कोहलपुर रिफर गरिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएकाे छ।