रुकुम पूर्व । रुकुम पश्चिममा एउटा प्रतिनिधी सभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र छन । अर्थमन्त्री समेत रहेका जनार्दन शर्मालाई माओवादी केन्द्रले सोही क्षेत्रबाट प्रतिनिधि सभाको उम्मेद्वार बनाएको छ । उनै शर्मा एकसातादेखि कार्यकर्ता भेटघाट र चुनावी प्रचारका लागी गृह जिल्ला रुकुम पश्चिममा ब्यस्त भएका छन । जिल्लाको चौरजहारी, मुसिकोट नगरपालिका, सानोभेरी र बाफिकोट गाउँपालिकाका बिभिन्न क्षेत्रमा कार्यकर्ता र मतदाता भेटघाटमा शर्मा ब्यस्त भएका हुन ।

माओवादी शान्ति प्रक्रियामा आएसँगै २०६४ सालदेखि यस क्षेत्रमा शर्मा निरन्तर चुनाव लड्दै र जित्दै आएका छन । ०४८ मा तत्कालीन जनमोर्चबाट पहिलो पटक चुनाव लडेका शर्मा कांग्रेस नेता गोपाल जी जङ्ग शाहसँग पराजित भएका थिए ।

पाँचौ पटक चुनावी मैदानमा होमिएका शर्मा यो पटक सत्तारुढ गठबन्धनका साझा उम्मेदवारका रुपमा प्रस्तुत भएका छन । माओवादीको प्रमुख प्रतिस्पर्धी कांग्रेस यसपटको चुनावमा सहयात्री बनेको छ ।

घरदैलो कार्यक्रमसंगै शर्माले जिल्लामा निर्माण सम्पन्न भएका तथा निर्मानाधीन अबस्थामा रहेका विभिन्न विकास निर्माणको अनुगमन गर्ने गरेका छन । बस्तीमा भेटिएका मतदातालाई शर्माले सन्चो विसन्चो सोध्ने, गाउँमा झुम्मिएर बसेकाहरूसँग हात मिलाउँदै, नमस्कार गर्दै तिहारको शुभकामना बाँडे ।

माओवादी निकट भ्रातृ संगठन अखिल नेपाल जनसांस्कृतिक महासंले जिल्लाका विभिन्न ठाउँहरूमा शुक्रबारसम्म ‘समाजवादी देउसी’ देउसी खेलिरहेको थियो । शर्माले त्यसको भरपुर सदुपयोग गरे । सिंगारु र मयूर नाचमा पोख्त शर्मा जहाँ देउसी भैलो हुन्छ, त्यहाँ पुग्ने जनतासँग नाच्ने र उनिहरुका गुनास सुन्ने काम गरे ।

ठूला चुनावीसभा तथा घरदैलो अभियान कात्तिक १७ गते पछि मात्रै गर्न पाइने निर्वाचन आयोगले बताएको छ । त्यसैले शर्माले सानो समूह तथा थोरै व्यक्ति भेट्ने क्रमलाई निरन्तरता दिइरहेका छन । तीन वटै स्थानीय तहमा भएका कार्यक्रममा शर्माले सीमित मतदातासंग भेटघाट गरिरहेका छन । निर्वाचन आचारसंहिताले ठूलो संख्यामा भेला गर्न नपाउने भनेकाले स(साना भेटघाटलाई महत्व दिएको शर्माले बताए ।

मतदाता भेटघाटको क्रममा शर्माले सवै उमेर समुहका व्यक्तिको माग सुन्ने गरेका थिए । मतदाता भेटघाटकै क्रममा शर्मा मुसिकोट नगरपालिका ५ को सोलाबाङ पुगे । त्यहाँ पुग्नासाथ शर्मा समक्ष युवाहरुले जिल्लामा रोजगारीको माग राखे । शर्माले चुनावी वाचाकै शैलीमा भने, ‘अबको हाम्रो प्राथमिकता भनेकै यूवालाई स्वरोजगार बनाउने र रोजगारी दिने हो । पाँच वर्षभित्र यो समस्या हल हुन्छ ।

मतदाता भेटन गाउँ पसेका शर्माले प्रत्येक गाउँको समस्याका विषयमा साध्ने र समस्या आफनो डायरीमा टिपोट गर्ने कुरालाई दैनिकी बनाएका छन । मतदाताले बाटो, विद्युत, खानेपानी, विभिन्न भौतिक संरचना र रोजगारी चाहिएको कुरा सुनाउने गरेका छन । शर्माले सहजै भने, ‘एक वर्ष भित्र यो हुन्छ ।

रोचक कुरा यस पटक मलाई नै भोट दिनुस है भनेर उनले कसैलाई भनेनन । उनले जनतालाई झुठ्ठा आश्वासन नदिने र बोलेका कुरा पूरा गर्ने बताए । झुठ्ठा आश्वास बाँड्दिनँ । हुनै नसक्ने काम ६ महिनाभित्रै गर्दिन्छु भन्दिन शर्माले भने, अवको एक दुई दिनभित्र घोषणा पत्र आउँदै छ । सबैकुरा त्यसमै हुन्छ ।