रुकुम पूर्व । नेपाली कांग्रेसले सार्वजनिक गरेको घोषणा पत्रमा अबको पाँच वर्षमा ३ वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका जेष्ठ नागरिकलाई निशुल्क उपचारको व्यवस्था गर्ने जनाएको छ । शनिबार ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणा पत्र सार्वजनिक गरेका छन ।
उक्त घोषणा पत्रमा स्वास्थ्य क्षेत्रमा कांग्रेसले ३ वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका जेष्ठ नागरिकलाई निशुल्क उपचारको व्यवस्था गर्ने उल्लेख गरेको छ ।

पाँच वर्षभित्र सबै नागरिकको स्वास्थ्य बीमा र बीमामार्फत गम्भीर प्रकृतिका रोगको उपचारको सुनिश्चितता गरिने कांग्रेसले प्रतिबद्धता जनाएको छ । ६५ वर्ष माथिका जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्न, अति अशक्त, एकल महिला, महिला तथा स्वास्थ्य स्वयं सेविकालाई निशुल्क बीमा गरिने घोषणा पत्रमा उल्लेख छ ।

यस्तै, सबै महिलालाई निस्शुल्क गुणस्तरीय स्यानिटरी प्याडको व्यवस्था पनि गरिने जनाएको छ । हरेक स्थानीय तहमा सुविधा सम्पन्न एम्बुलेन्स सेवा व्यवस्था गरी राष्ट्रिय एम्बुलेन्स सञ्जाल बनाउने कांग्रेसको प्रतिबद्धता छ ।

मदिरा र सुर्तीजन्य पदार्थको उपभोग, बिक्री वितरणलाई नियन्त्रण र नियमन गर्न करको दरमा वृद्धि गरिने घोषणा पत्रमा उल्लेख छ । प्रतिनिधि सभालाई विघटन गर्ने अलोकतान्त्रिक र असंवैधानिक कदम नचाल्ने कांग्रेसले प्रतिज्ञा समेत गरेको छ ।