रुकुम पूर्वः नेकपा माओवादी केन्द्रले राजनीतिक आन्दोलनबाट प्राप्त व्यवस्था रक्षा र अवस्था परिवर्तन आफ्नो नेतृत्वमा मात्रै सम्भव भएको बताएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिबद्धतापत्र जारी गर्दै माओवादी केन्द्रको नेतृत्वमा मात्र राजनीतिक परिवर्तनलाई साधन र माध्यम बनाएर जनताको जीवन फेर्न र नयाँ नेपाल बनाउन सम्भव भएको बताए ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार पारिएको प्रतिबद्धतापत्रमा भनिएको छ । नेपालको लोकतान्त्रिक क्रान्तिलाई आधारभूत रूपमा पूर्णता दिने राजनीतिक परिवर्तनका सबै जसो एजेन्डाहरू गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीकरण, सामाजिक न्याय, समाजवाद उन्मुखता हाम्रो पार्टीले अघि सारेको, स्थापित गरेको र हासिल गर्न निर्णायक भूमिका खेलेको तथ्य घाम जतिकै छर्लङ्ग छ ।

 

हाम्रो पार्टीको नेतृत्वदायी मुख्य भूमिकाबाट नै उत्पीडित वर्ग, मजदुर, किसान, महिला, आदिवासी जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, पिछडिएको क्षेत्र, भाषिक, सांस्कृतिक सीमान्तकृत एवं लोपोन्मुख समुदायको अधिकार र उपलब्धि सम्भव भएको हो । यस निम्ति हाम्रो पार्टी गौरव गर्दछ ।