रुकुम पूर्वः नेविसंघका नेता लालबहादुर ओलीले रुकुम पश्चिम प्रतिनिधि सभाको निर्वाचन परिचालन समिति संयोजकको जिम्मेवारी अस्विकार गरेका छन । नेपाल विद्यार्थी संघको केन्द्रीय समितिले ओलीलाई रुकुम पश्चिम प्रतिनिधि सभा निर्वाचन परिचालन समितिको संयोजक तोकेको थियो ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ओलीले जिम्मेवारी दिने केन्द्रीय समिति र अध्यक्षलाई धन्यवाद दिदै आफुले उक्त जिम्मेवारी वहन गर्न नसक्ने बताए । नेविसंघले देशभरका एक सय ६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्र र तीन सय ३० वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा नेपाल विद्यार्थी संघको प्रभावकारी परिचालनका लागि संयोजक तोकेको थियो ।

जसअनुसार नेविसंघले रुकुम पश्चिममा प्रतिनिधि सभा तर्फको निर्वाचन परिचालन समिति संयोजकमा ओली र प्रदेश (क) मा वसन्तकुमार चन्द तथा (ख) मा कर्णबहादुर ओलीलाई संयोजक तोकेको थियो ।

ओलीले माओवादीलाई जिताउन आफु प्रचारमा खटिन नसक्ने बताए । जिल्लाबाट कांग्रेसका कुनैपनि उम्मेदवार नरहेकोले आम कांग्रेसको मनोभावनामा असर पुग्ने गरी केन्द्रले तोकेको जिम्मेवारी आफुले पुरा गर्न नसक्ने उनको भनाई छ । साथै उनले पार्टी केन्द्रले रुकुम पश्चिमका कांग्रेसको मनोभावनामा चोट पुर्याएको बताए ।

एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धनबाट सबै निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले भाग पाएको छ । यसमा कांग्रेसले असन्तुष्टि देखाएको छ । जसका कारण विभिन्न तहमा रहेका नेताहरुले सार्वजनिक रुपमै गठबन्धनका विरुद्ध अभिव्यक्ति दिने र सहयोग नगर्ने बताएका छन ।