रुकुम(पूर्व) को पुथा उत्तरगंगा गाउँपालिकाको मागलाई संबोधन गरेर मात्र आफुले प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ बाट टिकट लिएको उम्मेद्वार तेजबहादुर ओलीले बताउनुभएको छ । पुथा उत्तरगंगा क्षेत्रको प्रतिनिधित्वको माग गर्दै त्यस क्षेत्रबाट स्वतन्त्र उम्मेद्वारी गराएको अवस्थामा संयुक्त बाम गठबन्धनका तर्फबाट प्रदेश सभाका उम्मेद्वार ओलीले प्रदेशसभामा पुथा उत्तरगंंगा गाउँपालिकाको प्रतिनिधित्व सुनिश्चित गरेर मात्र आफुले टिकट ल्याएको बताउनुभयो । उहाँले आज गाउँपालिकाको वडा नम्बर ६ मयाङमा पुथा क्षेत्र निर्वाचन एरिया समितिको बैठकमा यस्तो बताउनुभएको हो ।

अहिले प्रदेशसभाको समानुपातिकतर्फको बन्द सूचिमा १ नम्बरमा पुथा उत्तरगंगा गाउँपालिकाकी दिल कुमारी बुढाको नाम रहेको छ । समानुपातिकबाट प्रदेश सभामा बुढाको नाम फिक्स गरेर मात्र आफुले निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ टिकट ल्याएको प्रष्ट पार्नुभयो । अहिले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका र उनलाई समर्थन गरिरहेकाहरुले पुथा उत्तरगंगाको मागलाई संबोधन गरि आए सहयोग गर्ने कुरा गरेको भएपनि अहिले पार्टीको निर्णय विरुद्धमा गएर स्वतन्त्र उम्मेद्वारी दर्ता गराएको उहाँको भनाई छ ।

ओलीले मतदातालाई भ्रममा नपरी आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गर्नुभयो । मंसिर ४ गते हुने निर्वाचनबाट आफु विजयी भएर गएपछि प्रदेशसभाको कार्यकारी भूमीकामा पुगेर रुकुम(पूर्व) को समृद्धीका लागि विशेष काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।