रुकुम पूर्वः नेपाली कांग्रेसले पाँच वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने प्रतिबद्धता घोषणापत्रमा जनाएको छ । रोजगारीको सम्भावना बोकेका क्षेत्रहरूमा सूचना प्रविधि, उद्योग, पर्यटन, निर्माण र यातायात, वित्तीय क्षेत्र, खनिज, कला तथा मनोरञ्जन लगायत अन्य सेवा क्षेत्रमा वार्षिक २ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने संकल्प कांग्रेसले गरेको छ ।

कांग्रेसले ‘उद्यमशील समाज र रोजगारी ः नेपाली कांग्रेसको जिम्मेवारी’ नाराका साथ रोजगारीको क्षेत्रलाई प्राथमिकतामा राखेको छ । आफ्नो घोषणापत्र मार्फत कांग्रेसले विदेश पलायन हुने समस्या कम गर्न प्राविधिक शिक्षालयहरूको स्तरोन्नति गरी सबै प्रदेशमा अन्तर्राष्टिय स्तरको तालिम केन्द्र सञ्चालन गर्ने बताएको छ । उक्त केन्द्रमार्फत युवाहरूलाई नेपालमै रोजगारी खोज्न प्रेरित गर्ने उसको रणनीति छ ।

दलित परिवारको एक जना सदस्यलाई स्वदेशी वा वैदेशिक रोजगारीको सुनिश्चितता गर्ने कांग्रेसले जनाएको छ । बजारले मागेको युवाले रोजेको ‘तरूण सिप वृत्ति’ कार्यक्रम ल्याइने उसको प्रतिबद्धता छ ।

यस्तै, विदेशबाट फर्किएका युवालाई ‘अबको जीवन स्वदेश मै’ नीति अघि बढाउने र उक्त नीति अनुसार युवाहरूले विदेशमा हासिल गरेको सिप र आर्जन गरेको पुँजीको आधारमा स्थानीय तहसँग सहकार्य गरी उद्यममा संलग्न गराउन प्रेरणा र प्रोत्सानको कार्ययोजना बनाइने कांग्रेसको घोषणापत्रमा उल्लेख छ ।

सबै युवा युवतीलाई सम्मानित रोजगार, तरुण सिप वृत्ति वा पूर्णकालीन शिक्षा दिइने कांग्रेसले जनाएको छ । स्वरोजगार सहुलियत कार्यक्रम अन्तर्गत एकल महिला तथा अपाङ्गता भएका नागरिकले सञ्चालन गरेका स्वरोजगार कार्यक्रममा सरकारको तर्फबाट अनुदान दिने बताइएको छ ।

विपन्नका लागि न्यूनतम १०० दिनको रोजगारीको प्रत्याभूति गराउने कांग्रेसले घोषणा गरेको छ । त्यस्तै सबै श्रमिकको सामाजिक सुरक्षा कोषमार्फत योगदानमा आधारित निवृत्तिभरण गरिने जनाएको छ । सबै श्रमिकको संचय कोष र उपदानको प्रत्याभूति, दलित समुदायको परम्परागत सिप प्रवद्र्धनमा सहयोग र वैदेशिक रोजगारमा संलग्नका लागि लाभांश दिने रेमिट परियोजना सञ्चालन गर्ने कांग्रेसले जनाएको छ ।

२०७४ को घोषणापत्रमा के थियो ?
कांग्रेसले २०७४ सालको निर्वाचनको घोषणापत्रमा बेरोजगार भत्तादेखि ‘एक परिवार, एक रोजगार’ सम्मको योजना अघि सारेको थियो । त्यो बेला कांग्रेसले आन्तरिक रोजगारी प्रवद्र्धन र वैदेशिक रोजगारी व्यवस्थापनमा गम्भीर पहल गर्नुपर्ने बताएको थियो ।

गाउँमा रहेका युवाहरूलाई स्थानीय तहमा रोजगारी सिर्जना गरी उत्पादनमूलक कार्यमा संलग्न गराउन स्थानीय सरकारलाई प्रोत्साहित गरिने, रोजगारी प्रबद्र्धनका निम्ति प्राविधिक शिक्षा र सिप विकासको व्यापक अवसर स्थानीय सरकारले सिर्जना गर्न आवश्यक सहयोग पु¥याइने कांग्रेसले घोषणापत्रमा उल्लेख गरेको थियो ।

रोजगारी नपाउँदासम्म सामुदायिक सेवा र विकास कार्यमा संलग्न गराई बेरोजगार भत्ता उपलब्ध गराइने प्रतिबद्धता पनि उसले जनाएको थियो । ‘एक परिवार, एक रोजगार’, युवाको लक्ष्य सिप र दक्ष जस्ता नीति र कार्यक्रमलाई अभियानको रूपमा स्थानीय सरकारका माध्यमबाट सञ्चालन गर्ने कांग्रेसको प्रतिबद्धता थियो ।

कांग्रेसले त्यो बेला हरेक वर्ष ५ लाख रोजगारीका अवसर सिर्जना गर्ने प्रतिबद्धता जनाएको थियो । स्नातक तह अध्ययन गरेका तर, बेरोजगार रहेका युवालाई स्थानीय तहमा सामुदायिक स्वयंसेवा गरे बापत २ वर्षसम्म बेरोजगार भत्ता दिने उसले बताएको थियो । १२ कक्षाको अन्तिम परीक्षामा सहभागी भएका नव युवालाई लक्षित गरी ‘तरूण सिप वृत्ति’ योजना सञ्चानल गर्ने तथा उक्त कार्यक्रम अन्तर्गत स्थानीय प्रशासनमा इनन्टर्नसीप गर्ने कार्यक्रममा संलग्न गराइने पनि घोषणापत्रमा उल्लेख थियो । यो कार्यक्रमका लागि देशभर कम्तीमा १ लाख युवालाई संलग्न गराइने बताएको थियो ।

वैदेशिक रोजगारमा रहेका वा फर्केका युवाहरूको सिप, दक्षता, पुँजी र विप्रेषण आयलाई उत्पादनमूलक प्रयोजनमा लगानी गर्दै भविष्यमा पेन्सन सरहको लाभांश पाउने गरी रेमिट हाइड्रो, रेमिट पूर्वाधार बैंक रेमिक आवासजस्ता नवीन आयोजनाहरूको कार्यान्वयन गरिने जनाएको थियो ।

वैदेशिक रोजगारमा जाने श्रमिकलाई न्यून व्याजदरमा ऋण दिने व्यवस्था गरिने र यसका लागि कल्याणकारी कोषको प्रयोग, सरकारद्वारा ऋण कोषको स्थापना वा सहकारी संस्थाहरूको प्रयोग गर्ने जस्ता उपाय अबलम्बन गरिने कांग्रेसले घोषणापत्रमा उल्लेख गरेको थियो ।