
रुकुम(पूर्व) मा चुनावी प्रचार अभियानमा हिडेको गठबन्धनको समुहलाई बागी उम्मेद्वारले अवरोध गरेका छन् । शुक्रबार प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को मैकोटमा हुने प्रचारप्रसार कार्यक्रममा जान भनेर रुकुमकोटबाट हिडेको प्रतिनिधिसभाका प्रत्यक्ष उम्मेद्वार पूर्णबहादुर घर्ती र समानुपातीक उम्मेद्वार केशरमान रोकासहितको टोलीलाई माओवादीबाट बागी उम्मेद्वार दिएका सुरुल पुन र कांग्रसबाट बागी दिएका दुत कुमार पुनका समर्थकहरुले अवरोध गरेका हुन् ।
सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका उम्मेद्धार बन्नुभएका माओवादी केन्द्रका घर्ती सहित नेपाली कांग्रेसका समानुपातीक उम्मेद्धार रोका लगाएत माओवादीका नेताहरु गणेशमान पुन र दलजित श्रीपालीसहितको टोलीलाई बागी उम्मेद्वारका समर्थकले भूमे गाउँपालिका २ काक्री तकसेरा जाने सडक खण्डको अन्र्तगत काक्रीदेखी १ किलोमिटर माथि बिच बाटोमा अवरोध गरीएको गठबन्धन श्रोतले बताएको छ ।
गठबन्धनको टिम अहिले फर्केर भूमे २ खाबाङ झरेको छ । खाबाङ्मा दुईपक्षिय छलफल चलिरहेको बताइएको छ । अवरोध गर्ने बागिका समर्थकको श्रोतका अनुसार आफुहरुले प्रतिनिधिसभामा सत्ता गठबन्धनका साझा उम्मेद्धार बनेका पूर्ण बहादुर घर्तीको पक्षमा आफुहरु रहेको र आफुहरुले सत्ता गठबन्धका तर्फबाट १ नम्वर क्षेत्रमा उम्मेद्धार बन्नुभएका माओवादी केन्द्रका तेजबहादुर ओलीको बिरुद्धमा आफुहरुको उम्मेद्धारी रहेकाले गठबन्धनको टिमले कार्यक्रम गरेपछि ओलीलाई बल पुग्ने भन्दै अवरोध गरेको बताएको छ ।
तेजबहादुर ओलीको टिम यतिवेला १ नम्वर क्षेत्र अन्र्तगत पुथाउत्तरगंगा गाउँपालिकाको माथिल्लो क्षेत्र मैकोटमा घरदैलो अभियानमा व्यस्त भएको छ । यो घटना लगत्तै जिल्लामा प्रहरी प्रशासनको ध्यानाकार्षण भैसकेको र प्रहरी परिचालन समेत भैसकेको छ । सुरुल पुनमगरको टिमले यसअघि पनी तेजबहादुर ओलीको टिमलाइ पुथा उत्तरगंगा प्रवेशमा अवरोध गरेको थियो ।