रुकुम(पूर्व) को पुथा उत्तरगंगा गाउँपालिकामा नमुना मतदान सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय रुकुम(पूर्व) ले शनिबार पुथा उत्तरगंगा गाउँपालिका १० तकसेरामा नमुना मतदान सम्पन्न गरेको हो । नमुना मतदानमा कुल ४७ मत खसेको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार नमुना मतदानमा प्रतिनिधिसभातर्फ प्रत्यक्ष र समानुपातिक, प्रदेशसभातर्फ पनि प्रत्यक्ष र समानुपातिकमा ४७÷४७ मत खसेको थियो । जसमा स्याम्पलको रुपमा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा खसेको मत गणना गरिएको थियो । यसमा ६ मत बदर भएको जिल्ला निर्वाच्न अधिकारी ओलीले बताउनुभयो । उहाँकाअनुसार २ वटा औलाको छाप लगाइएको थियो भने २ वटा मतपत्रमा दुई वटा भन्दा बढी चिन्हमा छाप लगाइएको थियो । २ वटा मतपत्र भने खाली खसाइएको थियो ।

नमुना मतदानपछि उपस्थित नागरिकलाई अभिमुखीकरण कार्यक्रमको आयोजना गरि मतदाना शिक्षा प्रदान गरिएको जिल्ला निर्वाचन कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ । भूमे गाउँपालिकामा सोमबार नमुना मतदान गरिने भएको छ । त्यसपछि सिस्ने गाउँपालिकामा पनि नमुना मतदान गरिने जिल्ला निर्वाचन कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ ।