रुकुम पूर्वः प्रदेश निर्वाचन क्षेत्र नम्बर (१) का प्रदेश सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार केशव रावलले रुकुम पूर्व अस्पताललाई एक सय शैयामा स्तरोन्नति गर्ने प्रतिबद्धता जनाएका छन । आफनो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै रावलले यस विषयमा जानकारी दिएका हुन ।
जिल्ला अस्पताललाई अविलम्ब स्तरोन्नती गरेर कम्तिमा एक सय सैयाको बनाइने छ । सोही अनुरुपको भौतिक संरचना, विशेषज्ञ सहितको सेवा सुबिधा र गुणस्तरको व्यवस्थापन गरिने रावलले तयार पारेको प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।
गर्भवती महिलाहरुको जिल्लामै सबै उपचार गर्न सुबिधा सम्पन्न प्रसुती गृहको स्थापना गरिने छ । प्रत्येक वडाबाट एक जना छात्रा र एक जना छात्रलाई आफ्नै जिल्लामा सेवा गर्ने सर्तमा चिकित्सा विज्ञानमा उच्च शिक्षा पुर्ण छात्रवृत्तिमा पढाइने कुरा रावलले प्रतिबद्धता पत्रमा राखेका छन ।
प्रत्येक वडामा न्युनतम आधारभुत सेवा सुबिधा उपलब्ध हुने गरी आवश्यक दक्ष जनशक्ति सहितको गाउँ घर स्वास्थ्य सेवा कार्यक्रम संचालन गरी स्वास्थ्य सेवालाई पुर्ण व्यबस्थित, प्रभावकारी र गुणस्तरीय बनाइने छ । साथै स्वास्थ्य विमा अनिवार्य गरिनेछ र हरेक नागरिकको वर्षमा एक पटक निशुल्क र अनिवार्य स्वास्थ्य परिक्षण गर्ने व्यवस्था गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।
स्वास्थ्य सेवामा कुनै विलम्ब ढिला सुस्ती हुन नदिन प्रत्येक वडामा एउटा सुबिधा सम्पन्न एम्बुलेन्सको प्राबधान अनिवार्य गरिने र शवबाहनको पनि व्यवस्था गरिने उल्लेख छ ।
जिल्लामै प्राकृतिक चिकित्सालय, आयुर्वेदिक औषधालय, योग तथा ध्यान केन्द्र खोल्नुका साथै रक्तसञ्चार केन्द्र र अन्य बिपत लगायतलाई मध्यनजर गर्दै सिघ्र उपचारका लागि ट्रमा सेन्टर स्थापना गरिने भएको छ । सबै प्रकारका खोप निशुल्क उपलब्ध गराउने पनि उल्लेख गरिएको छ ।