रुकुम पूर्वः रुकुम पूर्व अस्पतालमा सुत्केरी भएकी एक महिलालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिका ५ की ३४ वर्षिया सावित्री गुरुङलाई  हेलिकप्टरबाट उद्धार गरि सुर्खेत पठाइएको छ ।


गए राति रुकुम पूर्व अस्पतालमा गुरुङले छोरीलाई जन्म दिएकी थिइन् । उनलाई सोमबार हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

नवजात शिशुको श्वासप्रश्वास र आमाको पनि स्वास्थ्यमा समस्या देखिएको अस्पतालका डाक्टर नारायण बरालले जानकारी दिए । आमा र बच्चा दुवैलाई थप समस्या आउन नदिन जिल्ला बाहिर पठाइएको डाक्टर बरालको भनाई छ ।

गुरुङलाई एम्बुलेन्सबाट अन्य सुविधासम्पन्न अस्पतालमा लैजान समस्या भएपछि नेपालगञ्जबाट हेलिकोप्टर मगाएर उद्धार गरिएको सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिए ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनोको एन.ए ०५५ नम्बरको हेलिकोप्टरमा गुरुङलाई सुर्खेत पठाइएको रेग्मीले बताए ।

गाउँपालिका अध्यक्ष रेग्मीको पहल र प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारको समन्वयमा सुत्केरी गुरुङ र नवजात शिशुको उद्धार गरिएको हो ।