रुकुम पूर्वः नेपाली कांग्रेसका जिल्ला सभापति एवम् प्रतिनिधी सभाका समानुपातिक उम्मेदवार केशरमान रोकाले माओवादीलाई मत दिन कांग्रेस हिचकिचाउन नहुने बताएका छन । रोकाले कांग्रेसलाई भोट दिन पनि माओवादी केन्द्रका नेता कार्यकर्ता हिचकिचाउन नहुने बताए ।

पार्टी केन्द्रले गरेको निर्णयलाई अक्षरशः पालना गर्न आम नागरिक तथा कार्यकर्तालाई रोकाले आग्रह गरेका छन । गठबन्धनलाई जिताए अहिलेसम्मको उपलब्धिको रक्षा हुने उनको भनाई छ ।

सडक, कृषि, पर्यटन र अन्य क्षेत्रको विकाससँगै निर्वाचन क्षेत्रमा जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्न गठबन्धनले जोड दिने उनले बताए । सोमबार चुनावी सभालाई सम्बोधन गर्न पुथाउत्तरगंगा १४ को राङसि पुगेका रोकाले सभालाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन ।

यस्तै नेकपा एकिकृत समाजवादीका नेता मोहनबहादुर कसीले रुकुम पुर्वको विकासको लागि गठबन्धनको पक्षमा मतदान गर्न नागरिकलाई आग्रह गरेका छन ।
नेकपा एकीकृत समाजवादीकी प्रदेश समानुपातिक उम्मेदवार सुनिता बुढाले अब भौतिक संरचनाको विकाससँगै मानवीय विकासको आवश्यकता रहेको बताइन् । जनताको समस्यालाई समाधान गर्न एकपटक आफुलाई जिताउन राङ्सिबासी समक्ष उनले आग्रह गरिन ।


नेपाली काङ्ग्रेसकी प्रतिनिधि सभा सदस्य पदकी समानुपातिक उम्मेदवार कुसुमदेवी थापाले पनि भ्रममा नपरी गठबन्धनको पक्षमा भोट दिन आग्रह गरिन ।

माओवादी केन्द्रबाट प्रदेशसभाको समानुपातिक उम्मेदवार बनेकी दिलकुमारी बुढाले पनि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेकी छिन ।