युनाइटेड मिसन टु नेपाल(युएमएन) रुकुम (पूर्व) क्लस्टरको जिल्ला परियोजना समितिको समिक्षात्मक बैठक सम्पन्न भएको छ । शुक्रबार जिल्लाको सिस्ने गाउपालिका वडा नम्बर ५ मा रहेको बिएलबी होटेलमा समिक्षात्मक बैठक सम्पन्न भएको हो । युएमएनले स्थानीय साझेदार संस्थाहरु सङ्गको समन्वयमा संचालन गरेका क्रियाकलापहरुको समिक्षा गर्नुका साथै आवश्यक सल्लाह सुझावका लागि उक्त बैठक संचालन गरिएको युएमएनका टिम लिडर शिव अधिकारीले बताउनुभयो ।

टिम लिडर अधिकारीले युएमएन तथा जिल्ला सल्लाहकार समितिको बारेमा जानकारी गराउनु भएको थियो । यस्तै जिल्लाभर संचालन भएका परियोजना तथा थप नयाँ संचालन गर्न सकिने परियोजनाका बारेमा पनि जानकारी गराउनु भएको थियो । युएमएनका साझेदार संस्था नेपाल जनजागरण मञ्च (एनप्याफ) ले जिल्ला भर गरेका विभिन्न क्रियाकलापहरुका बारेमा कार्यक्रम निर्देशक शम्भु विसिले जानकारी गराउनुभएको थियो भने मिक नेपाल र यसले जिल्लाभर संचालन गरेका कार्यक्रमका बारेमा अविनाश बुढा मगर लगाएतको टिमले जानकारी गराउनु भएको थियो ।

जानकारीका क्रममा यी संस्थाहरुले गरेका कार्यक्रमहरुबाट कृषि, पशु, शिक्षा र स्वास्थ्य लगाएतका क्षेत्रहरूमा नागरिकहरु लाभान्वित भएका बताइएको छ । गरिब विपन्न तथा घरबार विहिन नागरिकका लागि युएमएन र यसका साझेदार संस्थाहरुले विभिन्न शिर्षकहरुमा सहयोग गर्दै आइरहेका छन । विशेष गरि जिल्लाका भुमे र पुथा उत्तरगङ्गा गाउपालिकामा कार्यक्षेत्र रहेको यस संस्थाबाट भुमे गाउँपालिकाका १९ हजार ८ सय ३५ जना लाभान्वित भएका छन भने पुथा उत्तरगङ्गा गाउपालिकाका १८ हजार ९ सय ५४ जना लाभान्वित भएका युएमएनले जनाएको छ ।

बैठकका अध्यक्ष एवम जिल्ला समन्वय समितिका प्रमुख मेघ बहादुर श्रेष्ठले युएमएन र यसका साझेदार संस्थाहरुले जिल्लामा संचालन गरेका कामहरु प्रती आफू प्रसन्नता भएको बताउनु भयो । साथै उहाले कृषि, स्वास्थ्य, शिक्षा लगाएतका क्षेत्रहरूमा गरिएका विभिन्न कामहरुले सरकार लाई नै थप मद्धत र्पुयाएको र यस्ता कार्यक्रम हरु जिल्लाभर नै आवश्यक रहेको हुदा जिल्लाभर विस्तार गर्न पनि उहाले आग्रह गर्नु भएको छ ।

बैठकमा सहभागी अन्य कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरुले अनुदानको स्केल बढाएर पुर्ण प्याकेजका कार्यक्रमहरु संचालन गर्न सुझाएका छन । यस्तै संस्थाबाट विभिन्न कामहरु भएता पनि यसको ठोस उपलब्धता नदेखिएको कारण पनि यसको उपलब्धता झल्किने गरि कार्यक्रम गर्न पनि सुझाव दिएका छन ।

जिल्ला समन्वय समितिका प्रमुख एवम युएमएनका जिल्ला परियोजना समितिको सल्लाहकार मेघ बहादुर श्रेष्ठको अध्यक्षतामा संचालन गरिएको समिक्षातमक बैठकमा पुथा र भुमे गाउपालिका अध्यक्ष पुणिराज घर्ती र होमप्रकाश श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्य लगाएत जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुखहरु लगाएतको उपस्थिति रहेको थियो । बैठकको सन्चालन युएमएनका सक्षम परियोजना व्यवस्थापक हेमन्त राईले गर्नु भएको थियो ।