रुकुम पुर्व: रुकुम (पूर्व) बाट प्रतिनिधि सभाको उम्मेद्वार बनेका पूर्णबहादुर घर्तीले चुनाव जितेर गएपछि जनताको मर्म र भावना अनुरुप काम गर्ने बताएका छन । जिल्लाको भूमे गाउँपालिका वडा नम्बर २ खाबाङ बगरमा आयोजना गरिएको गठबन्धनको चुनावी सभालाई संबेधन गर्दै घर्तीले मन, वचन र कर्मले जनताको भावना अनुरुप काम गर्ने प्रतिबद्धता जनाए ।

विगतमा विभिन्न चरणमा भएको आन्दोलनको कारण आएको परिवर्तन संकटमा परेपछि देशमा पाँच दलिय गठबन्धन बनेको बताउदै उम्मेद्वार घर्तीले त्यहि गठबन्धनको तर्फबाट अहिले आफु रुकुम(पूर्व) को प्रतिनिधि सभाको उम्मेद्वार बनेको बताए ।

जिल्लाबासीलाई हसिया हथौडा चिन्हमा मतदान गरि विजय गराउन उनले अपिल गरेका छन । यसअघि चुनाव जितेर जिल्लामा विकास निर्माणको आधार तयार पारेको बताउदै उम्मेदवार घर्तीले चुनाव पछि विकास निर्माणलाई पूर्णताका साथै गती दिने प्रतिबद्धता जनाए ।

रुकुम(पूर्व) मा अहिले प्रतिनिधि सभा र प्रदेशसभातर्फ स्वतन्त्र उम्मेद्वारी दर्ता गराएकाहरु स्वतन्त्र नभएको घर्तीले बताए । व्यक्तिगत स्वार्थको लागि पार्टीको निर्णय स्विकार्न नसक्ने माआोवादी र कांग्रेसबाट बागी दिएकाहरुले स्वतन्त्र हौ भन्दै भ्रम छरिरहेको उनको भनाइ छ ।

स्वतन्त्रले जातीयको नारा उठाउदै आएको बताउदै उम्मेद्वार घर्तीले जातीयताको कुरा भन्दा वर्गलाई माया गर्नुपर्ने दाबी गरे ।

रुकुम(पूर्व) मा प्रतिनिधि सभा र प्रदेशसभाको दुई निर्वाचन क्षेत्रबाट गठबन्धनका आधिकारिक उम्मेद्वारलाई विजयी गराउन उम्मेदवार घर्तीले आम मतदातालाई आग्रह गरेका छन ।