
आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय रुकुम(पूर्व) ले चुनावमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरेको हो ।
जिल्लाको ३ वटा स्थानीय तहमा रहेको ४४ वटा मतदान स्थलका ५६ मतदान केन्द र जिल्ला समन्वय समितिको कार्यालयमा बनाइएको १ अस्थायी मतदान केन्द्र गरेर ५७ मतदान केन्द्रमा खटिने कर्मचारीहरुको लागि तालिम सञ्चालन गरिएको निर्वाचन अधिकृत तेज कुमार ओलिले जानकारी दिनुभयो ।
तालिममा मतदानको प्रक्रिया, कानुनी, व्यवहारिक र सैद्धान्तिक पक्षका कुरा सिकाइएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकार क्षेत्र, मतदान केन्द्र निर्माण गर्ने तरिका लगायतका विषयमा पनि तालिम दिइएको छ ।
तालिमको सहजिकरण मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरे, प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवार र निर्वाचन अधिकृत तेजकुमार ओलिले गर्नुभएको थियो । यस्तै जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुले सुरक्षा सम्बन्धि सुझाव समेत दिएका थिए । तालिम पश्चात नमूना मतदान केन्द्र निर्माण गरेर मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको सहभागितामा नमूना मतदान समेत गरिएको छ ।