रुकुम पुर्व : रुकुम पूर्वबाट प्रदेश सभा निर्वाचन क्षेत्र २ मा स्वतन्त्र उम्मेरवारी दिएका उम्मेदवार केशव रावलले जीवन रक्षाको माग गरेका छन । शुक्रबार राती रावल बसेको चाइनिज होटेलमा प्रहरीले अनावश्यक छापा मारेको र निर्वाचन प्रचारको लागि उक्त होटल नजिक बनाइएको सम्पर्क कार्यालयको ब्यानर च्यातेको रावलले बताए ।

‘म प्रदेश सभा सदस्यको उम्मेदवार हुँ,’ रावलले भने, ‘रुकुमकोटमा कतै नभएको सुरक्षा छापा म बसेकै होटेलमा भयो, सम्पर्क कार्यालयको ब्यानर च्यातेर निकालियो ।

रावलले आफू प्रदेश सभा सदस्यको उम्मेदवार भएकै कारण प्रहरी प्रशासनबाट असुरक्षित भएको र राज्यशक्ति आफू विरुद्धमा लागेको जनाए । उम्मेदवार रावलले वाम लोकतान्त्रिक गठबन्धन तर्फका उम्मेदवारले राज्यशक्तिको दुरुपयोग गरेर अन्य उम्मेदवारहरुलाई आतंकित बनाएको आरोप लगाए ।

उनले सामाजिक सञ्जाल मार्फत मतदाता र मानव अधिकारवादी संघ संस्थासंग जीवन रक्षा र अधिकार रक्षाको लागि अपिल गरेका छन ।

यस विषयमा उता जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण बहादुर खत्रीले छापा हान्ने र ब्यानर फाल्ने काम नभएको बताए । उनिहरु बसेको ठाउँमा जाँदा सामान्य विवाद भने भएको उनले बताए । यस विषयमा उनिहरुको प्रतिनिधि सहित छलफल हुदै गएको प्रहरी निरीक्षक खत्रीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले बेलुका अबेर सम्म केहि युवाहरुले होटलमा मादक पदार्थ सेवन गरेर होहल्ला गरेको सूचना पश्चात प्रहरी त्यहाँ पुगेर सम्झाई बुझाई गर्न खोज्दा सामान्य विवाद हुन पुगेको सूचना आफूलाई आएको बताए । त्यसक्रममा होटेल नजिकै रहेको सम्पर्क कार्यालयका ब्यानरमा असर पर्न गएको हुनसक्ने प्रजिअ सुनुवारले बताए ।

मादक पदार्थ सेवन, बिक्रि र ओसारपसार कार्य पूर्ण रुपमा रोक लगाइएको बेला होटेल व्यवसायीहरु र सेवनकर्ता समेतले अटेरी गर्न नहुने प्रशासनले बताएको छ ।

उम्मेदवारको सुरक्षाको बिषयमा आफुहरु सचेत रहेको र यस घटनाको बिषयमा उम्मेदवारले आफूलाई जानकारी नगराएको प्रजिअ सुनुवारको बताएका छन ।