रुकुम पूर्वः अस्थायी मतदान केन्द्रका रुपमा तोकिएको रुकुम पश्चिमको रुकुम कारागारमा रहेका कैदीबन्दीले मतदान गरेका छन । निर्वाचन आयोगले कारागारका कैदीबन्दीले पनि मतदान गर्न पाउने व्यवस्था गरे अनुसार कारागारमा रहेका कैदीबन्दीले मतदान गरेका हुन ।

कारागार कार्यालयमा तोकिएको अस्थायी मतदान केन्द्रमा ६४ कैदीबन्दीहरुको मत खसेको छ । मतदान अधिकृत लक्ष्मण बिकका अनुसार ६६ जना कैदीबन्दीको नामावली रहेको भएपनि ६४ जनाको मात्र मत खसेको हो ।

नामावलीमा नाम समावेश भएका मध्य दुई जना कैदीबन्दी हाल रुकुम कारागारमा नरहेकोले विकले बताए । कारागारमा रहेका कैदीबन्दीहरुले पालैपालो शान्तपूर्वक मतदान कार्यमा भाग लिएको मतदान अधिकृत बिकले जानकारी दिएका छन । उनले पाँच महिला र ५९ पुरुषले मत खसालेको बताए ।

नामावली अनुसार कारागारमा भएका कैदीबन्दीहरुले मतदान सम्पन्न गरेको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिए । मतदान सम्पन्न भएपनि निर्वाचन आयोगले तोकेको समयअनुसार बेलुका पाँच बजेसम्म मतदान केन्द्रको मतपेटिका खुल्लै रहने छ ।
समय सकिएपछि मात्र बाकस बन्द हुने प्रजिअ घिमिरेले बताए । उनका अनुसार जिल्लाभर शान्तपूर्वक मतदान भइरहेको छ ।

रुकुम पश्चिममा १३९ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र रहेका छन । कारागारमा रहेका १२४ जना कैदीबन्दी मध्य अन्तिम मतदाता नामावलीमा ६६ जनाको नाम समावेश रहेको थियो ।
अस्थायी मतदाताका लागि तोकिएको अवधिभित्र विवरण पेस गरेका कैदीबन्दीले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था रहेको छ ।