
रुकुम पुर्व: चर्चित सञ्चारकर्मी महाविर विश्वकर्माको दुर्घटनामा परी निधन भएको छ । चितवनको राप्ती नगरपालिका–४ सुन्दरबस्तीस्थित आफ्नो घरबाट काठमाडौं जाँदै गर्दा राप्ती नगरपालिका–६ हर्दीमा आज बिहान साढे ५ बजे माइक्रो बस दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।
आफू सवार बा ४ ख ४१२ नम्वरको माइक्रोबसमा च्यापिएका विश्वकर्मालाई झण्डै २ घण्टापछि निकालिएको थियो । विग्रेर रोकिराखेको ना २ ख ८५२२ नम्वरको ट्रकमा माइक्रो ठोक्किएको थियो ।
उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।
पछिल्लो समय काठमाडौं बस्दै आएका उनि निर्वाचनमा मतदान गर्न चितवन आएको उनका भाई भुवन विकले जानकारी दिए । शव पोष्टमाटमका लागि भरतपुर अस्पताल लगिदैछ । उनले लामो समय चितवनको रेडियो चितवन र कालिका एफएममा काम गरेका थिए ।
थाहा सञ्चार नेटवर्कबाट उनले सञ्चालन गरिरहेको कार्यक्रम बहकिने मन देशभर चर्चित छ । देशका एक सय पचास बढि एफएम रेडियोमा उनको कार्यक्रम प्रशारण हुँदै आएको थियो ।